काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरेका छन् । बिहीबार नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै उनले चुनावमा विभाजित नहुन कांग्रेस नेता–कार्यकर्तालाई अपिल गरे ।

‘नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुनदृष्टि काँग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेछ । केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन’ उनले भनेका छन् ।
नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्ने भन्दै वर्षभरि नै विश्राम गर्ने समय नभएको कोइरालाले बताए । उनले भने, ‘हाम्रो क्रियाशीलतामा मात्र काँग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ ।’
पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्ति विरुद्ध पनि संघर्ष गरिरहने उनको भनाइ छ । ‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौँ । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वाकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो’ कोइरालाको शुभकामना सन्देशमा भनिएको छ ।
निर्वाचनको समयमा र पछि पनि आफू कार्यकर्ताको घर आँगनमा आएर भेटघाट, छलफल र बहस गर्ने उनले बताए । इतिहासले फेरि एक पटक कांग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको उनको भनाइ छ ।














