Logo
Logo

गालीगलौज होइन, एजेन्डा बताऊ



स्थानीय तह निर्वाचन अब एक महिनामात्रै बाँकी छ । निर्वाचननको मिति जिकिएसँगै चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलका नेता–कार्यकर्ताको सक्रियता बढेको छ अर्थात माहोल निर्वाचन केन्द्रित भइसकेको छ ।

नेता, कार्यकर्ता गाउँ फकिँदैछन् । राजानीतिक दलहरुले निर्वाचन लक्षित अभियानलाई तीव्र पारेका छन् । नेता कार्यकर्ता चुनावी प्रचारमा व्यस्त भएका छन् । टोलटोलमा चुनावी कार्यक्रम र आमसभा भइरहेको छ । यस्ता चुनावी कार्यक्रमहरुमा नेताहरू भद्दा गालीगलौजमा उत्रिएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गालीगलौजमा माहिर छन् । ओलीले सरकार, गठबन्धन दलका नेता, निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मलाई गालीको निशाना बनाएका छन् ।

ओलीले सरकारलाई ‘गिद्ध’को संज्ञा दिँदै आएका छन् । अदालतलाई जात्राको टिप्पणी गर्दै आएका छन् । सत्ताबाट बाहिरिएर बालकोटको बार्दलीमा पुगेपछि उनले भनेका थिए– ‘जनताको अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ नभएको जात्रा हाम्रो अदालतमा हुन्छ ।’

गत फागुन ७ गते सूर्य विनायक नगर अस्पतालको उद्घाटन गर्दै उनले देशको धुरीमा पाँचवटा गिद्ध बसेको टिप्पणी गरे । उनले भनेका थिए– ‘पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ ? एउटा मात्रै गिद्ध धुरीमा बस्दा त राम्रो मानिँदैन ।’
ओली मात्रै होइनन्, अन्य नेताहरू पनि गालीगलौजमा उत्रिएका छन् । प्रतिपक्ष र सत्तापक्षको भाषण शैली उस्तै हुन थालेको छ । जसले मौकामा एक अर्कालाई सिध्याउने गरी भद्दा गाली गर्दै गर्न थालेका छन् ।

लोकतन्त्रमा आलोचना सभ्य मानिन्छ । तर, आलोचना पाच्य र सर्वस्वीकार्य हुनुपर्छ । भाषण गर्ने बहानामा व्यक्तिगत गालीगलौज गर्नु राजनीतिक होइन । राजनीति भनेको देशको नीति र नियम बनाउने समाजिक थलो हो । तर, अहिले राजनीतिमै नीति हराएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड समेत गालीगलौजमा उत्रिन थालेका छन् । केही दिनअघि सिन्धुली पुगेका प्रचण्डले आफ्नो पार्टीलाई सिंह र अरुको पार्टीलाई भेडासँग तुलना गरे । उनले भनेका थिए– ‘सिंह र भेडाको कथा जस्तो । भेडासँग हिँड्दाहिँड्दा हामी पनि भ्याभ्या गर्ने जस्तो भाछौँ । हुँ त हामी सिंह गर्जिनुपर्ने हो । तर, भेडाहरूसँग हिँड्दा भ्याभ्या गर्न थालियो ।’

आफ्ना नेता–कार्यकर्तालाई अरूलाई ‘चको प्रहार’ नगर्न निर्देशन दिने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत गालीगलौजमा उत्रिने गरेको पाइन्छ । केही दिनअघि नुवाकोटमा आयोजित एक कार्यक्रममा उनले एमाले नेता भीम रावललाई ‘दिमाग खुस्किए’को भन्न भ्याए ।

यता, मन्त्री तथा नेकपा एकीकृत समजवादीका नेता प्रेम आलेले भने गालीगलौजमा ओलीलाई पछ्याइरहेका छन् । उनी आफ्नो पूर्वपार्टी एमालेका नेता र ओलीमाथि खनिने गरेका छन् । उनले ओलीलाई महाभारतको दुर्योधनको संज्ञा दिएका छन् । केही समयअघि एक कार्यक्रममा उनले भने, ‘केपी ओली महाभारतको दुर्योधन हुन् । महाभारतको दुर्योधन, एमाले नेता केपी ओली । कुनै फरक छैन ।’

यस्तै, नेकपा समाजवादी अध्यक्ष माधवकुमार नेपाल पनि बेलामौकामा गालीगलौजमा उत्रिन्छन् । उनको आक्रोश अरू कसैप्रति छैन । खाश उनी एमाले र ओलीप्रति तिखो टिप्पणी गर्दै आएका छन् । कुनै ठाउँको आमसभा तथा कार्यक्रमलाई सम्बोधन गर्दा एमाले र ओली प्रवृतिप्रति आक्रोश पोख्छन् ।

‘बाच्छो’ले समेत अन्य पार्टी र नेतालाई गाली गर्न भ्याइसके । कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेका थिए– ‘पहिले गाउँमा जाँदा कुन नेता आउनु भएछ भन्थे, अहिले कुन चोर आएछ भन्ने गरेका छन् ।’

नेताको मुखबाट जति धेरै गाली, कार्यकर्ताबाट उति नै ताली । आफ्नो नेताले अर्को पार्टीका नेतालाई गाली गर्नसाथ कार्यकर्ता ताली पड्काउँछन् । अरूलाई गाली गर्न नेतालाई उनीहरू महान ठान्छन् । अरूलाई गाली गर्दा ताली बजाउने, वाहवाही गर्ने, उचाल्नेको कमी छैन यहाँ । आफ्ना नेताको के सही, के गलत, के राम्रो, के नराम्रो केही छुट्टाउँदैनन् । नेताले आकाश कालो हुन्छ भन्यो भने कार्यकर्ताले ‘हो कालै’ भन्न थालेका छन् ।

पछिल्लो समय नेपाली राजनीतिमा आरोप–प्रत्यारोप र गालीगलौज संस्कार नै बनेको छ । केही वर्ष यता नेपाली राजनीतिमा अर्काको उछितो काढेर आफ्नो महत्व उजिल्याउने प्रवृत्ति बढेको छ । न्वारानदेखिको बल निकालेर अर्का पार्टी र नेतालाई गाली नगरेसम्म नेतै बन्दैनन ! आफू र आफ्नो दलबाहेक अरु दल दल नै होइन जस्ता मानसिक सोच बढ्दै गएको छ ।

राजनीतमा एकअर्कालाई व्यंग्य नगरेको, छेड नहानेको र बेइज्जत नगरेको पाइँदैन । हुन त, वीपी कोइरालाका बुबा कृष्णप्रसाद कोइरालालाई पनि राणाहरूले ‘काठा’ भनेर खिस्याउँथे ।

राजनीति गज्जबको छ । आफ्ना पार्टीका सबैले दुधले नुहाएका हुन्छन् । अर्को पार्टीका नेता गोमन हुन्छन् । खतम हुन्छन् । गएगुज्रेका हुन्छन् । आफूलाई ठूला दल, राम्रो पार्टी र महान् देखाउन अरूको सत्तेसराप गर्नुपर्छ । राजनीतिमा नैतिकता, इमानदारिता, धैर्यता र विश्वास कतै देखिँदैन् ।

निर्वाचनका बेला यस्ता व्यंग्य र आलोचना बढी सुनिन्छ । राजनीतिमा पक्ष र विपक्ष हुन्छ । एकले अर्काको आलोचना गर्नु स्वाभाविक हो । लोकतन्त्रमा आलोचना सभ्य मानिन्छ । तर, आलोचना पाच्य र सर्वस्वीकार्य हुनुपर्छ । भाषण गर्ने बहानामा व्यक्तिगत गालीगलौज गर्नु राजनीतिक होइन । राजनीति भनेको देशको नीति र नियम बनाउने समाजिक थलो हो । तर, अहिले राजनीतिमै नीति हराएको छ ।

चुनावमा मतदाताको मन जित्ने सबै नेताको ध्येय हुन्छ । तर, सभ्य बोलेर जनताको मन जित्नुको सट्टा अर्को दलमाथि सकेजति हिलो छ्याप्न थालिएको छ । गालीको स्तर यति गिरिसक्यो कि, अब त नेताहरू स्वयंलाई यो पच्न छाडिसकेको छ ।

चुनावको समयमा आफ्नो नीति, योजना र कार्यक्रम जनतामा लैजाने हो, गालीको पुलिन्दा होइन । देश बनाउने या बिगार्ने जिम्मा राजनीतिकै हो । राजनीतिको अगुवाइ गर्ने नेता हो । नेता जनताका आइकन हुन् । त्यसैले उसको आचरण र व्यवहार विशिष्ट र मर्यादित हुनुपर्छ ।

कुनै नेताले समस्यामा रहेका गरिब जनताको पक्षमा कहीँ अर्को नेताको कटाक्ष गरेको पाइँदैन । तर, आफ्ना पार्टीका मान्छेलाई हटायो भने विभिन्न निकायमा आफ्नो मान्छे नियुक्ति भएन आपत्ति जनाउँछ । तर, उपचार नपाएर मृत्युवरण भोग्नुपरेको नियतिबारे बोल्दैनन् ।

निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यास भइरहेको छ । लोकतन्त्रको अभ्यास गरिरहँदा नेतृत्व वर्गमा संस्कारको अभाव देखिएको छ । नेतृत्वको चरित्र र व्यवहार लोकतान्त्रिक हुन सकेको छैन । सभ्यता र संस्कार बिनाको उपलब्धीले लोेकतन्त्रको महत्व रहँदैन ।

गाली, आरोप र अपमानको संस्कार प्रकट गर्ने नेता वा राजनीतिक दलबाट समाज परिवर्तनको अपेक्षा गर्न सकिँदैन । संस्कार विनाको नेताले समाजलाई कसरी सभ्य बनाउँछ भन्ने प्रश्न उठ्न थालेको छ । र, नेपाली राजनीतिक दलका शीर्ष नेताहरुको असभ्य र भद्दा अभिव्यक्तिकै कारण पछिल्लो समय युवापुस्ता राजनीतिलाई घृणा गर्न थालेका छन् ।

नेताहरुले बुझ्न जरुरी छ कि गालीगलौज आफू र आफ्नो पार्टीलाई अब्बल सावित गर्ने माध्यम होइन । अब नेताहरूले गाली छोडेर जनताका मुद्दा उठाउनुपर्छ । गरिब, निमुखा र पिछडिए र अल्पसंख्यकहरुको आवाज उठाउनुपर्छ र सुन्नुपर्छ । अहिलेकै अवस्थामा राजनीतिमा गाली संस्कृति मौलाउँदै गयो भने त्यो राजनीति होइन, लाजनीति बन्छ ।

प्रतिक्रिया दिनुहोस्