Logo
Logo
कला

‘फेसन बजारमा आफ्नै ट्रेडमार्क ल्याउने सोच छ’



पछिल्लो समय फेसन डिजाइनर बन्ने ट्रेण्ड चलेको छ । यही ट्रेण्डका कारण हिजोआज जताततै बुटिकहरू खुलेका छन् । ‘एमकेएम फेसन हाउस’ तीमध्येकै एक हो । काठमाडौंको डिल्लीबजारमा रहेको उक्त फेसन हाउसको सञ्चालक हुन्, फेसन डिजाइनर दिलमाया मगर । पाँच वर्षअघि सञ्चालनमा आएको एमकेएम फेसन हाउस ‘ब्राइडल वेयर’का लागि चर्चित छ । दिलमायाले आईआईएफटीबाट डिजाइनिङमा डिप्लोमा गरेपछि ‘एमकेएम फेसन हाउस’ सञ्चालनमा ल्याएकी हुन् । त्यसअघि उनी अनलाइनमार्फत सारीको व्यापार गर्थिन् । उनी भन्छिन्, ‘अनलाइन व्यापारले नै म फेसन डिजाइनर बनेँ ।’ एमकेएम फेसन हाउस काठमाडौंमा चलेका बुटिकमध्येमा पर्छ । दिलमाया आफ्नो पेसाबाट सन्तुष्ट छिन् । फेसनलाई ‘प्यासन’ बनाएकी ललितपुर इमाडोलकी दिलमाया मगरसँगएमपी सुब्बाको जम्काभेट :

फेसनको व्यपार कस्तो चलिरहेको छ ?
कोरोना महामारी र लकडाउन कारण व्यापार डामाडोल भएको थियो । तर, अहिले व्यापार पुरानै अवस्थामा फर्किएको छ । तर, प्रतिस्पर्धाचाहिँ बढेको छ ।

प्रतिस्पर्धा बढ्नुका कारण के हो ?
लकडाउनका बेला धेरैले रोजगारी गुमाए । त्यसमा महिला पनि धेरै परे । रोजगारी गुमाएपछि केही त गर्नैप¥यो । बुटिकको काम घरमै बसेर पनि गर्न सकिने भएकाले धेरै जना डिजाइनिङ क्षेत्रमा लागे । उनीहरूले बुटिक खोल्न थालेपछि प्रतिस्पर्धा बढेको हो ।

तपाईँ यो क्षेत्रमा लाग्नुभएको कति भयो ?
सन् २०१७ देखि हो । त्यसअघि अनलाइनमार्फत इण्डियन सारीको व्यापार गर्थे । त्यो व्यापार रोकेपछि सारी स्टक भयो । ती स्टक सारीलाई नयाँ लुक्स दिनलाई डिजाइनर बन्नुप¥यो । त्यसपछि फेसन डिजाइनिङ सिकेर यो क्षेत्रमा लागेकी हुँ ।

त्यसअघि डिजाइनिङबारे ज्ञान लिनुभएको थिएन ?
सारीको अनलाइन व्यापार रोकिएसँगै आईआईएफटीको विज्ञापन देखेर डिजाइनिङ सिकेकी हुँ । सिलाइ बुनाईमा सानैदेखि रुची थियो । मेरी आमा सिलाइ–बुनाइ गर्नुहुन्थ्यो । म यो क्षेत्रमा लाग्नुको देन पनि आमालाई दिन्छु । कम्पनी पनि आमाकै नाममा मनकुमारी इन्टरनेशनल प्रालि राखेकी हुँ ।

हिजोआज अनलाइन व्यापार गर्नुहुन्न ?
अनलाइन व्यापार गरिरहेकी छु । अहिले त डिजिटल मार्केटको ट्रेण्ड छ । मैले ‘माया डी कलेक्सन’ नामबाट अनलाइन व्यापार गर्दै आएकी छु । मेरा बढी ग्राहक अनलाइनबाटै जोडिनुभएको छ ।

नेपालमा फेसन बजारको अवस्था कस्तो देख्नुहुन्छ ?
फेसन डिजाइनिङमा नेम र फेम सबै छ । गर्न सक्यो भने यो क्षेत्र एकदमै राम्रो छ । नेपालमा ९० प्रतिशत फेसन कन्सस हुनुहुन्छ । तर, यो क्षेत्रमा आउन चाहेर पनि सबै टिक्न सक्दैनन् । जो मिहिनेतले टिक्न सक्छ, उसको भविष्य राम्रो छ ।

बुटिकमा आउनेहरू कस्ता लुगा रुचाउँछन् ?
जो–जो फेसनको रुची पूरा गर्न बुटिकमा आउँछन्, उनीहरु क्वालिटीलाई भन्दा लुक्समा जोड दिन्छन् । फेसन गर्नेहरूलाई महँगो पहिरनको मतलव हुँदैन । एक दिन लगाएको पहिरन प्रायःले अर्को दिन लगाउँदैनन् । त्यसैले पनि उनीहरूलाई क्वालिटीको मतलव हुन्न ।

तर, बुटिकका लुगा महँगो हुन्छ भन्छन् नि ?
त्यो गलत हो । बुटिकलाई प्रायले डिजाइनिङ भन्ने बुझ्छ । त्यसैले मान्छेहरू हत्तपत्त बुटिक छिर्दैनन् । त्यसै कारण मैले बुटिक नभनेर ‘एमकेएम फेसन हाउस’ नाम राखेकी हुँ । हामी ग्राहकको बजेटअनुसार पहिरन तयार गरिदिन्छौँ । फेसन डिजाइनर भएपछि क्वालिटी मेन्टेन्सचाहिँ गर्नैपर्छ ।

खास बुटिक भनेको के हो ?
बुटिक भनेको क्वालिटी मेन्टेन हो । बुटिकको पहिरन ‘वान पिस’ हुनुपर्छ । एउटा बुटिकले तयार गरेको डिजाइन अर्को बुटिकले गर्न पाउँदैन । त्यसैले केही महँगो पर्न आउँछ । तर, अहिले त्यस्तो अवस्था छैन । यसमा बुटिक संघले ध्यान नदिँदा मनलाग्दी भएको छ । अर्को, होलसेलरले बुटिकवाला र अन्य ग्राहकलाई एउटै मूल्यमा फेब्रिक बेचिरहेको हुन्छ । यसले हामी मर्कामा परेका छौँ ।

एमकेएम फेसन हाउसको विशेषता के हो ?
ब्राइडल वेयर हो । जसमा गाउन, सारी, लेहेँगा सबै पर्छ । क्याजुअल ड्रेस चाहिँ अर्डरमा मात्र गर्ने गरेकी छु ।

ब्राइडल वेयर सिजनल भन्छन् नि ?
सिजनल हो तर हामी दुई तीन महिनादेखि काम गरिरहेका हुन्छौँ । फेसन डिजाइनरको काम कहिल्यै रोकिँदैन ।

यो समरमा कस्ता पहिरन चलिरहेको छ ?
ड्रेपिङ सारी, जर्जट र नेटमा स्याटनको ट्रेण्ड चलेको छ । डोपट्टा सारी, गाउन लेहेँगा, सुल्वार सुट पनि चलेको छ ।

तपाईँको लक्ष्य के हो ?
फेसन क्षेत्रमै केही गर्ने सोच छ । मेरो सानैदेखिको रुची पनि व्यापार नै हो । त्यसैले भविष्यमा आफ्नै ट्रेडमार्क बनाउने लक्ष्य लिएकी छु ।

प्रतिक्रिया दिनुहोस्