पूर्वी नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनले सबैलाई फाइदा हुने बताएका हुन् ।

उनले महानगर र उपमहानगरमा माओवादीलाई फाइदा हुने गरी आइतबार केन्द्रीय गठबन्धनले निर्णय गर्ने बताएका छन् । उनले भने, ‘हामीले निर्णय गर्छौं ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै केन्द्रमा गठबन्धनको निर्णय आउँछ, अरु तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाइँहरु ढुक्क हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ ।’
उनले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने पनि दाबी गरे । यो निर्वाचन माओवादीका लागि ठूलो लडाइँ भएको भन्दै दाहालले यो निर्वाचनमा माओवादीले जिते संविधान र गणतन्त्र जोगिने नत्र धरापमा पर्ने बताएका थिए । यसका लागि सबै चनाखो भएर जिताउन लाग्नुपर्ने भन्दै उनले कार्यकर्तालाई आग्रह गरेका थिए ।
उनले भने, ‘एमाले अध्यक्ष केपी ओलीको असली रुप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैं भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ ।’














