Logo
Logo

पहेँलपुर तोरीले खिच्यो राष्ट्रपतिको ध्यान



–चन्द्रकला भण्डारी 

भद्रपुर, २४ पुस (रासस) ः ‘तोरीखेती त राम्रो रहेछ, कति बिगाहामा लगाउनुभएको छ’, राष्ट्रपति विद्यादेवी भण्डारीले सोध्नेबित्तिकै मीना ढकालले भन्नुभयो, “पाँच बिगाहामा । यो सबै बीउको लागि हो ।” 

यो प्रसङ्ग थियो पुस १८ गतेको । राष्ट्रपति भण्डारी महारानीझोडा साना किसान कृषि सहकारी संस्थाले गरेको नमूना कृषि परियोजनाको अवलोकनका लागि गौरादह–६ मा आउनुभएको थियो । हेलिकप्टरबाट कार्यक्रमस्थलमा आउनुअघि नै उहाँले आकाशबाटै सो सहकारीले १०० बिघामा गरेको नमूना कृषि परियोजनाको अवलोकन गर्नुभएको थियो ।

 

हेलिकप्टरबाट उत्रिएर कार्यक्रमस्थल आइपुग्न करीब सय मिटरको दूरी थियो । सो अवधिमा उहाँले सहकारीले लगाएको तोरी खेतीबारे जिज्ञासा राख्नुभएको थियो । यतिबेला सहकारीले पाँच बिघा जमीनमा लगाएको तोरीले राष्ट्रपति जस्तै सबैको ध्यान खिंचेको छ । अहिले यहाँ तोरीको फूल फुलेर पहेंलपुर भएको छ । 

कृषि परियोजनाको अवलोकन भ्रमणका लागि देशभरबाट विभिन्न सङ्घसंस्था र सहकारी दैनिकजसो यहाँ आउने गरेका छन् । यहाँ आउने जो कोहीले तोरीबारीमा सेल्फी र सामूहिक फोटो खिंचाउने गरेको सहकारी संस्थाका अध्यक्ष ढकालले बताउनुभयो । ‘‘हामीले विभिन्न खालका कृषिजन्य वस्तुको खेती गरेका छौं’’, उहाँले भन्नुभयो, “तर बारीमा पहेंलपुर फुलेको तारीले सबैको ध्यान खिंचेको छ ।” 

‘‘सहकारीले सिजन अनुसारको खेती गर्छ, तर सहकारीले उत्पादन गरेको धान, मकै, गहुँ, तोरीलगायतका कृषिजन्य वस्तु बीउको रुपमा विभिन्न जिल्लामा जाने गरेको छ’’, अध्यक्ष ढकालको भनाइ छ । ‘‘गत वर्ष तीन बिगाहामा लगाएको तोरीको बीउको माग बढेकाले यसपालि बढाएर पाँच बिगाहामा लगाएका छौँ’’, अध्यक्ष ढकालले भन्नुभयो, “हामीसँग उत्पादित वस्तुको ‘ग्रेडिङ’ उद्योेग पनि छ । बिउको ग्रेडिङ गरेर बजार पठाउँछौँ । यहाँ उत्पादित तोरीको बीउ, इलाम, मोरङ, सुनसरी, सिरहा सप्तारीसम्म माग हुने गरेको छ ।” 

विसं २०५५ मा साना किसान विकास आयोजनाको नाममा प्रारम्भ गरेको यस संस्था विसं २०५९ मा मात्र सहकारीमा दर्ता भएर महारानीझोडा साना किसान सहकारी भएको थियो । ३० जनाको समूह मिलेर दर्ता गरेको सहकारीमा हाल एक हजार ९४३ जना महिला शेयर सदस्य रहेका छन् । 

संस्थाको चुक्ता शेयर पूँजी रु दुई करोड ७१ लाख ९६ हजार, कूल आन्तरिक पूँजी रु १६ करोड ५७ लाख ८३ हजार र कर्जा लगानी २८ करोड ९५ लाख १० हजार रहेको छ । संस्थाले ग्रामीण बचत तथा कृषि ऋण कार्यक्रम, सुपथ मूल्यको सहकारी पसल सञ्चालन, सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द, सहकारी खेती, दुग्ध सङ्कलन केन्द्र, नमूना सहकारी गाई स्रोत केन्द्र तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, विप्रेषण (रेमिट्यान्स) सेवा, साना किसान नवीकरणीय ऊर्जा कार्यक्रम र पशुधन सुरक्षण कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष ढकालले बताउनुभयो । 

महिला मात्र मिलेर स्थापना गरेको यस सहकारी आज देशकै नमूना हुन पुगेको गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवालले बताउनुभयो । ‘‘राष्ट्रपतिले समेत महत्व दिएर अवलोकन गरेको सहकारी सायद पहिलो होला’’, उहाँले भन्नुभयो, “अवसर पायो भने महिलाले नमूना बनेर देखाउन सक्छन् भन्ने देशकै उदाहरणीय भएको छ यो सहकारी ।” 

साना किसान बैंकका मुख्य प्रबन्धक कृष्णप्रसाद लामिछानेले नेपालमा ९२० वटा साना किसान सहकारीमध्ये महिलाले सञ्चालन गरेको यो सहकारी नेपालकै उत्कृष्ट भएको बताउनुभयो । उहाँले विसं २०७० बाट शुरु गरेको यो नमूना कृषि परियोजना अन्तर्गत सहकारीले कृषिमा फड्को मारेको बताउनुभयो । 

‘‘कृषिमा देशकै नमूना मोडल देखाउन सफल भएको छ’’, उहाँले भन्नुभयो, “राज्यले कृषिमा लगानी बढाउनुपर्छ, समृद्ध नेपाल खुशी नेपालीको सपना बोकेको राज्यले कृषिमा लगानी बढायो भने महारानीझोडा जस्तै सहकारीले देशको अर्थतन्त्रमा कायपलट ल्याउने निश्चित छ ।” 

सहकारीले खेतीमार्पmत जमीनको चाक्लाबन्दी, यान्त्रीकरण, माटो परीक्षण र सुधारका क्रममा कृषि चुनको तथा जैविक मलको प्रयोग र हरियो मल बालीको खेती, कृषकबीच सामूहिक भावनाको विकाससँगै क्षमता अभिवृद्धि, उत्पादनमा वृद्धि तथा जग्गाधनी कृषकको प्रतिफल सुनिश्चित आदि गरिरहेको छ । 

संस्थाले यतिबेला धान, गहुँ, मकै, तोरी, जै घाँसको बीउ उत्पादन गरिहरेको छ । सहकारीले मकैको हाइव्रिड वीउ उत्पादन गर्नुका साथै अचार उद्योग, गाईपालन, माछापालन सञ्चालन र मकैको चिउरा उद्योग स्थापना गरेको छ । 

सहकारीले बागवानीतर्पm दुई बिघा क्षेत्रफलमा आँप, लिची, कागती खेती गरिरहेको अध्यक्ष ढकालको भनाइ छ । उहाँका अनुसार सहकारी खेती तथा सदस्य कृषकले हाल वार्षिकरुपमा उत्पादन गरेको धान, गहु, जै घाँस, तोरीसहित ४१३ मेट्रिकटन संस्थाकै प्रशोधन केन्द्रमार्पmत प्रशोधन गरी बजारीकरण गरेको छ । 

प्रतिक्रिया दिनुहोस्