Logo
Logo

तरकारी उत्पादनमा कमी


378
Shares

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय स्थानीय उत्पादन कम हुँदा बजारमा तरकारी उपलब्धतामा कमी आउनुका साथै मूल्य आकासिएको छ । मौसममा आएको फेरबदलका कारण नगदेबालीका रुपमा लगाइने तरकारीमा समस्या आएपछि उत्पादनमा समेत कमी आएको हो ।

कञ्चनपुर मण्डी व्यवसायी संघका पूर्वअध्यक्ष तर्कराज भट्टले स्थानीय तरकारी फर्सी, लौकी, भन्टा मण्डीमा आए पनि अन्य तरकारी भने भारतीय बजारबाट आयात भइरहेको बताए । उनले भारतबाट टमाटर आउँदै सिमलामिर्च, प्याज, आलु, बोडी, भिन्डी, काजरलगायतको तरकारी नियमित आयात भइरहेको बताए । “फागुनसम्म चिसो र एक्कासि गर्मी बढेपछि किसानले लगाएको टमाटर खेतीमा क्षति धेरै भयो ।” उनले भने, “विगतको भन्दा यस वर्ष स्थानीय उत्पादन बजारसम्म कमै आयो ।” त्यसैगरी गड्डाचौकी हुँदै आयात गरिने तरकारी कैलालीको अत्तरीयास्थित मण्डीमा रहेको प्रयोगशालामा स्याम्पल जाँच हुने गरेको भट्टको भनाइ छ ।

“गड्डाचौकी भन्सार पुगेको तरकारी स्याम्पल जाँचपछि मात्रै भित्र्याइन्छ ।” उनले भने, “अहिले क्यारेन्टाइन हुँदा उपभोक्ताले गुणस्तरीय तरकारी उपभोग गर्न पाएका छन् ।” यता भीमदत्त नगरपालिका–१९ बागफाटामा अढाइ बिघा खेतमा तरकारी खेती गर्दै आएको ख्यालीराम बर्माले यस वर्ष करिब १५ कट्ठामा लगाएको टमाटर पूर्णरुपले क्षति भएको बताए । “कात्तिकमा टमाटर खेती गरेँ तर बर्सात र अत्यधिक चिसोका कारण सबै बोटहरु काम नलाग्ने भए ।” उनले भने, “अहिले लगाएको तरकारी दुई हप्तापछि बजारमा आउँछ ।” विगत १३ बर्षदेखि यहाँ तरकारी खेती गर्दै आएका बर्माले टमाटर र कागतीको मूल्य धेरै आकासिएको बताए ।

मण्डीमा अहिले लौकी, फर्सीको मूल्य घटे पनि अरु तरकारीको भने महँगो नै रहेको व्यापारीको भनाइ छ । महेन्द्रनगरस्थित मण्डीका तरकारी व्यापारी अनिलप्रसाद चौधरीले कागतीको मूल्य बढेको बताए । “पहिले कागती पिसको रु. पाँचदेखि बढीमा १० सम्म बिक्री गर्यौँ।” उनले भने, “प्रतिकिलो रु. ५ सय पुगेपछि पिसकै रु. २० सम्म बिक्री गर्नुपर्ने बाध्यता आयो ।” उनले बजारमा स्थानीय उत्पादन कम आइरहेको भए पनि तरकारीको अभाव भने नरहेको बताए । यसैगरी, कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्राविधिक सहायक जनक सिंहले नयाँ तरकारी बजारमा आउन बाँकी र पुरानो उत्पादन सकिने बेला भएकाले बजारमा तरकारीमा कमी देखिएको बताए ।

“लहरे तरकारी उत्पादन भइसकेको अवस्था छैन ।” उनले भने, “हरियो तरकारी त यो बेलामा पाउन समस्या नै भएको छ ।” उनले केही दिनभित्रै तरकारी उपलब्धतामा सहजता आउने बताउँदै जिल्लाका ग्रामीण भेगसम्म व्यावसायिकरुपमा तरकारी खेती गर्नेको संख्या बढिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्