बलेवा । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्र गरिरहेको एक उपकरणमा आगलागी भएको छ ।

बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना१क ३०४४ नम्बरको अलकत्रा छर्ने उपकरणमा आगलागी भएको हो । कालोपत्रका लागि अलकत्रा तताइएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको उपकरणका सहचालक टुप्पीनारायण तिमिल्सिनाले जानकारी दिए । आगलागी भएपछि कालोपत्रको काम रोकिएको छ । अमर माध्यमिक विद्यालय नजिकै रहेको सो उपकरणमा आगो लागेपछि गाउँ र विद्यालय बचाउन चालकले जोखिम मोलेर त्यसलाई बस्तीदेखि टाढा पुर्याएका सहचालक तिमिल्सिनाले बताए ।
स्थानीयवासी, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र मेहर गणका सेनानी आशिष देवकोटा नेतृत्वको सैनिक टोलीले आगो नियन्त्रणमा लिएको थियो । उक्त उपकरणमा पूर्णरुपमा क्षति पुगेकाले करोडौँको सम्पति नष्ट भएको निर्माण व्यवसायीले बताए ।














