काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको बताएका छन् ।
सामाखुसी यातायात प्रालिले आज आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवं प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रममा उनले संविधान रक्षाका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन् । “वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन हुँदैछ, कार्यकर्ताको मन उच्च हुनेगरी गठबन्धन हुन्छ”, उनले भने । निर्वाचन केन्द्रित भएर लाग्न नेता सिंहले सबैलाई आग्रहसमेत गरे । पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने बताए ।
उनले प्रजातान्त्रिक यातायात व्यवसायीले पार्टीको शुभेच्छुक संस्थाको रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले आसन्न स्थानीय तहको निर्वाचनमा संगठनको भावनालाई केन्द्रमा राखेर गठबन्धन गरिने बताए । उनले राजनीतिक मुद्दा सम्पन्न भएको भन्दै अब विकास केन्द्रित अभियानमा लाग्नुपर्ने उल्लेख गरे । कांग्रेसका महाधिवेशन प्रतिनिधि सुशील भट्टले कांग्रेसले स्थानीय तहको निर्वाचनमा जनाधार हेरेर उम्मेदवार खडा गर्नुपर्ने बताए । उनले नेताभन्दा नीतिमुखी व्यक्तिलाई उम्मेदवारका रुपमा पार्टीले अगाडि बढाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा सामाखुसी यातायात प्रालिका अध्यक्ष सानुकाजी प्रजापति, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, निवर्तमान अध्यक्ष योगेन्द्रमान कर्माचार्य, उपाध्यक्ष रवि रिमाललगायतले मुलुकको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको नेपालको यातायात क्षेत्रलाई राज्यले सम्मान गर्न नसकेको गुनासो गरे ।














