काठमाडौं । नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरुले कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसरअगाडि सोमबार धर्ना दिएका छन् ।
पत्रकार दिपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली, न्यूनतम पारिश्रमिक तत्काल लागू, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, स्ट्रिन्जर र रिपोर्टरलाई स्थायी बनाउनुपर्नेसहित मागसहित पत्रकारहरुले धर्ना दिएका हुन् ।

महासंघले आइतबार पत्रकार सम्मेलन गरी श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिनेलगायत समस्या बढ्दै जान थालेपछि विरोध कार्यक्रम घोषणा गरेको थियो । उनीहरुले विभिन्न बहानामा निष्काशित गरिएका पत्रकारहरुलाई तत्काल पुर्नथापित गर्न माग गरेका छन् ।
साथै, यही वैशाख ७ र ८ गते दिउँसो १२ देखि १ बजेसम्म सुन्धारास्थित नागरिक दैनिकको कार्यालयमा पनि धर्ना कार्यक्रम राखेको महासंघले जनाएको छ ।














