Logo
Logo

वरिष्ठ कवि अधिकारीलाई ‘वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान’



काठमाडौं । वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीलाई विसं २०७८ को वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार प्रदान गरिने भएको छ । ‘वनिता’ साहित्यिक पत्रिकाले रु. १० हजार १५ राशिसहितको पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरेको हो ।

चौबीस वर्षदेखि निरन्तररूपमा प्रकाशित हुँदै आएको पत्रिकाले २०७८ र २०७९ दुवै वर्षका साहित्य, संगीत, रंगमञ्च, सञ्चार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न पुरस्कार घोषणा गरेको छ । साहित्यकार डा. दयाराम श्रेष्ठ (सम्भव) लाई विसं २०७८ को रु. २५ हजार राशिसहितको वनिताश्री कथा रत्न अभिनन्दन प्रदान गरिने छ । पत्रिकाले बाल साहित्यकारद्वय प्रभा भट्टराई र रामदेव पाण्डेलाई रु. १० हजार राशिको देवकुमारी थापा बाल साहित्य वनिता पुरस्कार तथा समालोचकद्वय डा. शैलेन्दुप्रकाश नेपाल र डा. दुर्गाप्रसाद दाहाललाई वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

कथाकारद्वय मातृका पोखरेल र इल्या भट्टराईलाई वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार तथा कविद्वय कृसु क्षेत्री र मनोज न्यौपानेलाई व्यथित काव्य वनिताश्री पुरस्कार प्रदान गर्ने निर्णय भएको प्रेस विज्ञप्तिमा उल्लेख छ । सहित्यकार गायत्री श्रेष्ठलाई वनिता शिक्षा र साहित्य पुरस्कार, कलाकार मोहन अभिलाषीलाई वनिता बहुआयामिक प्रतिभा पुरस्कार, गायिका संगीता थापा र नेपाल आइडल सिजन–४ का विजेता भूपेन्द्र थापा मगर शाक्यलाई वनिताश्री उन्नति गीत–संगीत पुरस्कार प्रदान गरिनेछ ।

सञ्चारकर्मी भगवती बस्नेत र रंगकर्मी पुरू लम्साललाई वनिता विशेष वसुश्री–मधु पुरस्कार तथा गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छाले वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार प्राप्त गर्नेछन् । वनिता जलेश्वरी बाल प्रतिभा पुरस्कार राइजिङ स्टार बोर्डिङ स्कुलका साना छात्रा र प्रिभा रेग्मीलाई तथा वनिता बाल कलाकार पुरस्कार कृशला श्रेष्ठलाई प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्