काठमाडौं । चुनावी जटिलता बुझ्दाबुझ्दै पनि केपी शर्मा ओलीले उम्मेदवारी चयनमा जबरजस्ती गरेपछि एमालेभित्रै असन्तुष्टि चुलिएको छ । काठमाडौं महानगरमा विद्यासुन्दर शाक्य अलोकप्रिय छन् भनेर महानगर कमिटीले केशव स्थापित वा रामवीर मानन्धरलाई मेयरको उम्मेदवार बनाउनुपर्ने सिफारिस गरेको थियो । तर, ओलीले अहिलेलाई विद्यासुन्दर शाक्य नै भएको बताइसकेका छन् ।

विभिन्न स्थानीय तहका अध्यक्ष र मेयरका उम्मेदवार १० बुँदे पक्षधर छन् भने तिनका सट्टा अरुलाई उम्मेदवार बनाउने ओलीको तयारी छ । उदाहरणका लागि तुलसीपुरमा घनश्याम पाण्डेलाई एमालेले उम्मेदवार नबनाउने टुंगो लागिसकेको छ । उनलाई सिफारिसमै नपारी हालकी उपमेयर माया आचार्यसहित जिल्ला एमालेका पूर्वअध्यक्ष टीकाराम खड्का, मनोहर बुढाथोकी, कृष्ण भुसाल, नवराज लामिछाने र विनोद शर्मा सिफारिसमा परेका छन् ।
घोराहीकी उपमेयर सीता न्यौपाने १० बँुदे भएकै कारण सिफारिससम्ममा परेकी छन् । तर, ओलीले अहिलेकै मेयर नरुलाल चौधरीलाई नै उम्मेदवार बनाउने भएका छन् । सीताले मेयरको टिकट नपाउनुका पछाडि शंकर पोखरेल र विष्णु पौडेलको विकसित गुट झगडा पनि कारक मानिएको छ । सीता विष्णुनिकटकी हुन् । उनलाई महाधिवेशनमा प्रतिनिधि मनोनित गरेर केन्द्रीय सदस्यसम्म बनाउने भूमिका विष्णुले खेलेका थिए ।
विष्णुले शंकरको जिल्लामा यसरी हात हालेपछि शंकरले पनि विष्णुको जिल्ला रुपन्देहीमा हात हाल्न बाँकी राखेनन् । रुपन्देन्हीका पार्टी अध्यक्ष तेजेन्द्र केसी पोखरेल निकटका हुन् । उनीमार्फत शंकर पोखरेलले त्यहाँका स्थानीय तहमा विष्णु पौडेलपक्षीय आकांक्षीलाई टिकटबाट बञ्चित गराइरहेका छन् ।
ओलीले धरानको मेयरमा हालकी उपमेयर मञ्जु भण्डारीलाई अगाडि सारेपछि उनका विरुद्ध बागी उम्मेदवारीको तयारी भइरहेको छ । स्थानीय निकाय निर्वाचनमा ओलीले एकलौटी निर्णय लाद्न थालेपछि जिल्ला–जिल्लामा भाँडभैलो मच्चिन थालेको छ । एमालेको टिकटबाट बञ्चित धेरै नेता, कार्यकर्ता एकीकृत समाजवादीमा आउने तयारी गरिरहेका छन् । कमल थापासँगको गठबन्धनले पनि एमालेका इमान्दार नेता, कार्यकर्ता चिढिन थालेका छन् ।











