Logo
Logo

स्थानीय तह निर्वाचन : उम्मेदवार टुंगो लगाउन सकस


630
Shares

जनकपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा पनि मधेस प्रदेशमा राजनीतिक दलले अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । सत्ता साझेदार दलकाबीचमा चुनावी तालमेलमा सहमति जुटेपनि आ– आफ्ना पार्टीभित्र उम्मेदवार बन्ने आकांक्षी बढी देखिएकाले उम्मेदवार छनोट गर्न दलहरुलाई सकस भइरहेको छ ।

दलले उम्मेदवारको टुंगो लगाउन नसक्दा उम्मेदवारका आकांक्षीहरु मात्र होइन, पार्टीका नेता कार्यकर्तासमेत अन्योलमा परेका छन् । “उम्मेदवारी मनोनयन दर्ता गराउने समय एक साताभन्दा पनि कम समय बाँकी छ तर, अझै उम्मेदवारको टुंगो लगाउन नसक्दा हामी अन्योलमा छौँ,” नेकपा (एमाले) का नेतृ अम्बिका विश्वकर्माले भनिन्, “नगरपालिकाको उपप्रमुख पदका लागि मेरो नाम सिफारिस भएको छ तर, पार्टीले अझै आधिकारिक निर्णय लिन नसक्दा अन्योलमा परेकी छु ।” पार्टीले निर्णय नगरेकाले खुलेर उम्मेदवारका रुपमा जनतामाझ पुगेर प्रचार गर्न सकिरहेकी छुइन्, उनको भनाइ छ ।

“पार्टीले उम्मेदवार छनोटको निर्णय लिन नसक्दा प्रचारप्रसारमा ढिलाइ भइरहेको छ,” नेपाली कांग्रेस नेता काननकुमार चौधरीले भने, “पार्टीले उम्मेदवार टुंगो लगाउन ढिलाइ गर्दा न त उम्मेदवारका रुपमा खुलेर प्रचार गर्न सकिरहेको छु न त अन्य तयारी नै गर्न भ्याएको छु ।” केवल अहिले पार्टीको निर्णय कुरेर बसिरहेको छु उनको कथन छ । उनीहरु मात्र होइन, अधिकांश दलबाट विभिन्न पदका आकांक्षी उम्मेदवार पार्टीको निर्णय पर्खेर बसिरहेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।

तर, उम्मेदवारी मनोनयन दर्ताको समय एक साताभन्दा कम समय बाँकी रहँदा पनि राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउन नसक्दा नेता कार्यकर्ताहरुमा अन्योलता मात्र बढेको छैन गाउँ–गाउँमा चुनावी माहोलसमेत बन्न नसकेको मतदाताहरु बताउँछन् । सत्ता साझेदार दलहरु तालमेलको कसरमा जुटिरहँदा प्रतिपक्षी दल एमाले, लोकतान्त्रिक समाजवादी पार्टी तथा जनमत पार्टी उम्मेदवार छनोटको गृहकार्यमा जुटेका छन् । गठबन्धनभित्र चुनावी तालमेलमा अझै कुरा मिल्न नसक्दा कांग्रेस र जनता समाजवादी पार्टीले सिरहा, सप्तरी लगायतका जिल्लाहरुमा उम्मेदवार बिनै छुट्टाछुटै घरदैलो कार्यक्रम सुरु गरिसकेको छ भने गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी पनि आन्तरिक गृहकार्य गरिरहेको नेताहरुले बताएका छन् ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मात्र उम्मेदवारको टुंगो लगाएर उम्मेदवारहरुलाई टिकट वितरण गरेको छ । “मधेस प्रदेशका हरेक स्थानीय तहमा उम्मेदवारी दिने तयारी पार्टीको छ,” जनमत पार्टीका नेता बिपी साहले भने, “पालिका समितिहरुबाट सिफारिस भएका उम्मेदवारहरुलाई टिकट वितरण गरिसकेको छ, वडाध्यक्षहरुको टिकट भोलिदेखि बाँड्ने तयारी गरेको छ ।” यसैबीच, कांग्रेस र जसपाको पर्सा जिल्ला समितिले केही दिनअघि विज्ञप्ति जारी गरेरै पर्सा जिल्लाको स्थानीय तहहरुमा तालमेल नगर्ने र मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने निर्णय नै घोषणा गरिसकेको छ भने कांग्रेस लहान नगरसमितिले पनि वडा सभापतिहरुको रायअनुसार कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै प्रतिष्पर्धामा जाने घोषणा गरिसकेको छ ।

“लहान नगरपालिकामा दलहरुबीच गठबन्धन हुने सम्भावना नदेखिएकाले हामी एक्लै चुनावी प्रतिस्पर्धामा जाने निष्कर्षका पुगेका छौँ,” कांग्रेस लहान नगरसमितिका सभापति महेशप्रसाद चौधरीले भने, “पार्टीको नगर समितिको निर्णयअनुसार हामीले चुनाव प्रचार–प्रसार सुरु गरिसकेका छौँ ।” कांग्रेस लहान नगर समितिले लहान नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा तीन/तीनजनाको नाम सिफारिस गरेको छ । कांग्रेसले तालमेल नगर्ने निर्णय गरेपछि लहान नगरपालिकामा नेकपा (माओवादी केन्द्र), जसपा र नेकपा (एकीकृत समाजवादी)ले तालमेल गर्ने प्रयास गरेको छ । यद्यपि अझै यस विषयमा ठोस निष्कर्षमा पुग्न नसकेको नेकपा एकीकृत समाजवादीका नेता सत्यनारायण यादवले बताए ।

कूल ३३ लाख ३१ हजार १७० मतदाता रहेको मधेस प्रदेशमा स्थानीय तहको निर्वाचनका लागि चार हजार १९९ मतदात केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालय जनकपुरधामले जनाएको छ । एमाले र लोसपा जितेको पालिकामा अनिवार्य तालमेल गर्ने गठबन्धनको निर्णय सत्तारूढ गठबन्धनको मधेस प्रदेशस्तरीय बैठकले मधेस प्रदेशमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले जितेको स्थानीय तहमा अनिवार्य रुपमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनमा आबद्ध दलका प्रदेशस्तरीय नेताहरुको जनकपुरधाममा दुई दिनसम्म बसेको बैठकले मधेस प्रदेशमा एमाले र लोसपा जितेको गाउँ/नगर पालिकामा गठबन्धनमा आबद्ध दलहरुबीच तालमेल गर्ने निर्णय गरेको हो । मधेस प्रदेशका बाँकी पालिकाहरुमा आवश्यकतानुसार गठबन्धन दलबीच तालमेल गर्ने सहमति भएको जसपा मधेस प्रदेशका मुख्यसचिव दिनेशकुमार यादवले जानकारी दिए ।

मधेस प्रदेशका आठ जिल्लामा लोसपा र एमालेले ३३/३४ पालिकाहरुमा जितेको छ । दुवै पार्टीले जितेको स्थानीय तहमा जसरी पनि चुनावी तालमेल गर्ने र बाँकी पालिकाहरुमा आवश्यकता हेरी गठबन्धन गर्ने सहमत भएको उनले बताए । गठबन्धनमा भागबन्डाबारे पालिकास्तरमै गठबन्धनका नेताहरुले निर्णय लिने सहमति बनेको उनको भनाइ छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको गृहकार्यका लागि गठबन्धनले जिल्ला–जिल्लामा प्रदेशस्तरीय नेतालाई पठाएको थियो । मधेस प्रदेशका आठ जिल्लामा १३६ वटा स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्