
काठमाडौं । धेरै जिल्लामा कांग्रेसले गठबन्धन अस्वीकार गरिरहेको बेला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।
सिट बाँडफाँट लगायत विषयमा सत्तारुढ दललाई सकस परेको बेला गठबन्धनको नेतृत्व दल कांग्रेसका सभापति देउवाले नै गठबन्धन फुटाउने खेल भइरहेको बताएका हुन् ।
पछिल्लो समय कांग्रेसकै अधिकांश नेता गठबन्धनको विपक्षमा बोल्दै आएका छन् । अधिकांश जिल्लामा कांग्रेसले गठबन्धन अस्वीकार गरिरहेका बेला देउवाले गठबन्धनको स्थायित्वबारे चिन्ता व्यक्त गरेका हुन् ।
नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन टुटे कांग्रेसले अघिल्लो निर्वाचनकै जस्तो हालत भोग्नुपर्ने चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने– ‘गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ बेसरी । गठबन्धन टुटेपछि त्यही हालत हुने हो, अस्ती जस्तो थियो । प्रचण्ड र ओली मिलेपछि के हालत भएको थियो हाम्रो ? भोलि पनि त्यही अवस्था नआओस् ।’
आफूले चाहेर भन्दा पनि संविधान र व्यवस्थाको रक्षाका निम्ति आफू प्रधानमन्त्री हुँदा गठबन्धन बनेपछि पार्टीलाई धेरै फाइदा भएको समेत देउवाले भनेका छन् ।
देउवाले भने– ‘गण्डकीमा कांग्रेसकै मुख्यमन्त्री छ । धेरै ठाउँमा मन्त्रीमा भाग पाएका छौं । सुदूरपश्चिममा पनि सरकारमा छौं, कर्णालीमा मुख्यमन्त्री छ । अरु ठाउँमा हुने सम्भावना छ । के बिगारें मैले ? मैले त कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने भने हुन्छ ।’
प्रधानमन्त्री देउवालाई आफ्नै पार्टीका नेताका कारण गठबन्धन टुट्ने चिन्ता लागेको हो । केन्द्रमा गरेको सहमतिअनुसार अधिकांश जिल्लामा कांग्रेसले गठबन्धन अस्वीरका गरेपछि देउवा दवाव रहेका छन् ।
प्रधानमन्त्रीले गठबन्धन टुटाउने आशांक व्यक्त गरिरहँदा गठबन्धनमा आवद्ध अन्य दल भने गठबन्धन टुटे कांग्रेसकै कारण टुट्ने बताउँछन् ।
गठबन्धनमा आवद्ध नेकपा माओवाद केन्द्रका एक नेता भन्छन– ‘हामी कुनै पनि हालतमा गठबन्धन टुट्नु हुन्न भन्ने पक्षमा छौं । अन्य दल पनि गठबन्धनलाई बलिायो बनाएर लैजानुपर्छ भन्ने पक्षमै छन् । तर, कांग्रेसकै साथीहरु गठबन्धनको विपक्षमा हुनुहुन्छ । उहाँहरुमा एक्लै जितिन्छ भन्ने अहंम छ । यदि, गठबन्धन टुट्ने अवस्था कोहीबाट बन्छ भने कांग्रेसबाटै बन्छ ।’














