Logo
Logo

भारतीयसँग प्रजिअ मिलेपछि



काठमाडौं । गलत विवरणका आधारमा नेपाली नागरिकता लिने एक भारतीय परिवारलाई जिल्ला प्रशासन कार्यालय बाँकेले जोगाएको छ । भारतको केवलपुर, रुपैडिया बहराईच घर भएका ब्रज भूषण सिंहको परिवारलाई बाँकेका प्रजिअ सूर्य खत्रीले जोगाएका हुन् । उनीहरू भारतीय नागरिक भएको प्रष्ट प्रमाण हुँदा पनि कारबाही गरिएको छैन । बज्र भुषण, उनको श्रीमती रञ्जना र छोरी मनिषाले नेपाली नागरिकता लिएका हुन् ।

उनीहरूले नेपालगञ्ज नगरपालिका–२ बाट नागरिकता लिएका हुन् । उनीहरू भारतमै बस्ने भएपनि नेपाली नागरिकतासमेत राख्दै आएका छन् । भारतीय आधार कार्डमा बज्र भूषणको जन्ममिति २०२२ साल रहेकोमा नेपाली नागरिकतामा २०४० साल राखेका छन् । उनले २०६३ सालमा चलखेलका आधारमा नेपाली नागरिकता प्राप्त गरेकोमा त्यसविरुद्ध प्रमाणसहित उजुरी परेपछि प्रजिअ कार्यालय र प्रहरीले जोगाएको हो । छोरी मनिषाले भने २०७६ साल १५ वैशाखमा नागरिकता लिएकी थिइन् । जबकी, उसको बुबाको उमेर १३ वर्ष मात्र भएको देखिन्छ ।

मनिषाले हालै भारतीय नागरिक मनोज सिंहसँग बिहे गरेको र विवाहलगत्तै फरार भएपछि सम्पत्तिका लागि डिभोर्स प्रक्रिया अघि बढेपछि यो विवाद बाहिर आएको हो । केटीको बुबाको नेपालमा करिब ५० लाख ऋण भएको र त्यो ऋण तिर्न यसरी बिहे नाटक गरी सम्पत्ति मागिएको भन्दै मनोजले उजुरी गरेका हुन् । उनी जलसेनाका क्याप्टेन हुन् ।

केटीलाई बेपत्ता बनाई मुद्दा हालेको विषयमा जिप्रका बाँकेमा उजुरी परेको थियो । उजुरीका आधारमा प्रहरीले केटीका बुबा बज्र भूषणलाई पक्राउ गरी केही दिन थुनामा राखेको थियो । तर, मेयर धवलशमशेर राणा नै लागेर उनलाई छुटाएका थिए । त्यही बीचमा उनले एक करोडको जग्गा बिक्री गरेका थिए । त्यो पैसा प्रजिअ कार्यालयदेखि प्रहरीसम्म पुगेको स्रोत बताउँछ । उनलाई छुटाउन नेपालगञ्ज १० का वडाअध्यक्ष विन्दुभूषण बस्नेत पनि सक्रिय भएको स्रोतले बताएको छ ।

दोहोरो नागरिकता जस्तो गम्भीर विषयको प्रहरीले विस्तृत अनुसन्धान नगरी छाडेको विषयमा प्रहरीका माथिल्ला निकायमा समेत उजुरी परेको स्रोत बताउँछ । यो मुद्दालाई ट्वीस्ट गर्न डिएसपी मधुसुदन न्यौपाने र प्रजिअ कार्यालयका अधिकृत रामकुमार सोनाकारसमेत सक्रिय रुपमा लागेका थिए । सो परिवारको सगरमाथा सप्लायर्स नामक कम्पनी रहेको र त्यसमार्फत अवैध कारोबारसमेत हुने गरेको विषय खुलेपछि तर्सिएर सिंहले जग्गा बेचेर सेटिङ मिलाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्