काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन लक्षित घोषणापत्रमार्फत ‘संरक्षित कृषि बजार, किसानको जीवनमा बहार’ कार्यक्रम अघि सारेको छ ।

उक्त कार्यक्रममार्फत एकीकृत समाजवादीले हरेक पालिकाहरुले आफ्नो भूगोलभित्र कृषि उत्पादन बढाउने विशेष योजना बनाउनुका साथै कृषि उत्पादन विक्री हुने सुनिश्चितताका लागि व्यवस्थित योजना बनाई लागू गर्ने प्रतिवद्धता जनाएको छ ।
त्यसैगरी, एकीकृत समाजवादीले कृषि उत्पादन संरक्षणका लागि हरेक पालिकामा शीतभण्डारको व्यवस्था गर्ने कार्यक्रम अघि सारेको छ ।
कृषिसम्बन्धी एकीकृत समाजवादीको घोषणापत्र–
संरक्षित कृषि बजार, किसानको जीवनमा बहार
नेपालको युवाशक्ति रोजगारको खोजीमा डरलाग्दो गरी विदेश पलायन भैरहेको छ । यसलाई तत्काल रोक्ने प्रमुख उपाय भनेको युवाजनशक्तिलाई कृषि कार्यमा आकर्षित गर्नु हो । यसका लागि सुनिश्चित बचतसहितको कृषि उत्पादन बिक्रीको व्यवस्था हुनु पर्दछ ।
खेति-किसानीबाट ज्यालासमेत नउठ्ने वर्तमान व्यवस्था नै यसतर्फ विकर्षणको प्रमुख कारण बनेको छ । हरेक पालिकाहरुले आफ्नो भूगोलभित्र कृषि उत्पादन बढाउने विशेष योजना बनाउनुका साथै कृषि उत्पादन विक्री हुने सुनिश्चितताका लागि व्यवस्थित योजना बनाई लागू गर्ने छन् ।
कृषि उत्पादनको प्रत्याभूति हुने हो भने छोटो समयमै बेरोजगारी उन्मूलन हुनसक्छ भन्ने तथ्यलाई हाम्रा स्थानीय सरकारहरुले उच्च महत्व दिने छन् । कृषि उत्पादन संरक्षणका लागि हरेक पालिकामा शीतभण्डारको व्यवस्था गरिने छ ।
उचित मूल्यमा कृषि उपज बिक्रीको प्रत्याभूति नभएका कारण एकातिर श्रमशक्ति कृषिक्षेत्रबाट पलायत भैरहेको छ र रोजगारीका लागि विदेशिने बाध्यता छ भने अर्कोतिर यही कारणले कृषि श्रमिकको अभाव पनि उत्तिकै चर्को छ ।
कृषि उत्पादन विक्रीको प्रत्याभूतिले यी दुबै समस्याको समाधान गर्ने छ । संरक्षित कृषि बजार यस अर्थमा युवा लक्षित कार्यक्रम नै हो । यसैले हाम्रो नारा हुने छ– “विदेशिएका युवालाई स्वदेश फर्काउँ, कृषि उत्पादनमा बृद्धि गरौं !














