काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तह निर्वाचन लक्षित घोषणापत्रमार्फत ‘हरेक पालिकामा सुविधान सम्पन्न पुस्तकालय’ कार्यक्रम अघि सारेको छ ।

समाजलाई पुनः अध्ययन र अनुसन्धानको प्रवृतितिर डोर्याउन पुस्तकालयको सहज पहुँच हुन आवश्यक रहेको भन्दै एकीकृत समाजवादीले ‘हरेक पालिकामा सुविधान सम्पन्न पुस्तकालय’ अभियान अघि सरेको हो ।
घोषणापत्रमा भनेको छ- ‘आम मानिसको जीविकाको संघर्ष, स्मार्ट फोन र इन्टरनेटले गर्दा मासिनहरुमा गहन अध्ययन गर्ने प्रवृति हराउँदै गएको छ । यसले गर्दा समाज आमरुपमा टापटिपे जानकारीका आधारमा धारणा बनाउने तहमा जाँदै गरेको डरलाग्दो अवस्था छ । हाम्रो समाजलाई पुनः अध्ययन र अनुसन्धानको प्रवृतितिर डो¥याउनका लागि पुस्तकालयको सहज पहुँच हुन आवश्यक छ ।’
पुस्तकालयसम्बन्धी एकीकृत समाजवादीको घोषणापत्र-
हरेक पालिकामा सुविधासम्पन्न पुस्तकालयः
भनिन्छ, असल पुस्तकले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउने क्षमता राख्दछ । पुस्तकालयको नितान्त अभाव, कठोर र जटिल बन्दै गरेको आम मानिसको जीविकाको संघर्ष, स्मार्ट फोन र इन्टरनेटले गर्दा मासिनहरुमा गहन अध्ययन गर्ने प्रवृति हराउँदै गएको छ ।
यसले गर्दा समाज आमरुपमा टापटिपे जानकारीका आधारमा धारणा बनाउने तहमा जाँदै गरेको डरलाग्दो अवस्था छ । हाम्रो समाजलाई पुनः अध्ययन र अनुसन्धानको प्रवृतितिर डोर्याउनका लागि पुस्तकालयको सहज पहुँच हुन आवश्यक छ ।
विकास भनेको खेतियोग्य जमिन मासेर गिट्टिी–बालुवा छर्नु मात्र हैन, चेतनाको विकास नै भौतिक विकासको मूल माध्यम हो भन्ने स्थापित गर्नका लागि हाम्रा हरेक पालिकामा देश–विदेशका ख्याति प्राप्त लेखकहरुका पुस्तक उपलब्ध हुने पुस्तकालयको निर्माण आवश्यक छ ।
हाम्रा जनप्रतिनिधिको बाहुल्य भएका पालिकाहरुमा सुविधासम्पन्न पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापनाका लागि हामी प्रतिबद्धता व्यक्त गर्दछौं । हामीले बहुमत स्थानमा विजय प्राप्त गर्न नसकेका पालिकाहरूमा हाम्रा प्रतिनिधिहरुले पुस्तकालय निर्माणका लागि दबाबकारी भूमिका खेल्ने छन् ।














