Logo
Logo

स्थानीय तहका जनप्रतिनिधि डोजरको मालिक हुन नपाउने


1.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने अभियानका रुपमा चार बुँदे प्रतिवद्धता जनाएको छ । स्थानीयत तह निर्वाचन लक्षित घोषणापत्रमार्फत एकीकृत समाजवादीले उम्मेदवार बन्दादेखि विजयी भएर जनप्रतिनिधिको रुपमा काम गर्दासम्म आफ्ना प्रतिनिधिले गर्नु नहुने नगर्ने प्रतिवद्धता सार्वजनिक गरेको हो ।

भ्रष्टाचार समग्र अर्थतन्त्रको गंभीर रोग बनिसकेको भन्दै एकीकृत समाजवादीले नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्नका कृत संकल्पित रहेको उल्लेख गरेको छ । प्रतिवद्धताअनुसार स्थानीय तहको निर्वाचनमा उमेदवारी दाखिला गरेकै दिन उमेदवारहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने छ ।

त्यसैगरी, जनप्रतिनिधि निर्वाचित व्यक्ति कार्यकालभर कुनै पनि व्यवसायीक संस्थाको कार्यकारी पदमा रहन पाउने छैन ।पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि डोजरको मालिक भएको भन्दै आलोचना भइरहेको बेला एकीकृत समाजवादीले आफ्ना जनजाप्रतिनिधि डोजर मालिक हुन नपाउने भनेको छ ।

भ्रष्टाचार मुक्त स्थानीय सरकार शीर्षकमा एकीकृत समाजवादीको घोषणापत्र

भ्रष्टाचार मुक्त स्थानीय सरकारः
भ्रष्टाचार हाम्रो समग्र अर्थतन्त्रको गंभीर रोग बनिसकेको छ । हाम्रो पार्टी समग्र नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्नका लागि कृत संकल्पित छ । यसको शुरुवात सबै क्षेत्रबाट गरिनु पर्दछ ।

आम जनताले सुसासनको पहिलो अनुभूति स्थानीय सरकारकै माध्यमबाट गर्दछन् । यसैले स्थानीय सरकारलाई भ्रष्टाचार मुक्त तथा सुशासनका केन्द्र बनाउनका लागि हाम्रो पार्टीले विशेष अनुगमन गरी आवश्यक उपाय अवलम्बन गर्ने छ भने आफ्नो पार्टीबाट टिकट लिई विजय प्राप्त गरेका जनप्रतिनिधिलाई यस विषयमा ठोस निर्देशन र प्रशिक्षण उपलब्ध गराउने छ ।

भ्रष्टाचार हुने रकमको मात्रा निसन्देह स्थानीय तहभन्दा माथि नै बढी छ भन्ने कुरा स्वतः सिद्ध छ । तर स्थानीय सरकार जनताको प्रत्यक्ष निगरानीमा रहने हुँदा यस क्षेत्रमा हुने भ्रष्टाचार सर्वाधिक उदाङ्गो भएको छ ।

हाल कायम रहेका कतिपय पालिकाका जनप्रतिनिधिहरुले आफैंले गाडि खरिद गरी आफ्नै पालिकामा भाडामा लगाउने र सोही गाडि उपभोग गर्ने, डोजर खरिद गरी आफैंले भाडामा लगाउने, पालिका पदाधिकारीहरू आफ्नै पालिकाका ठेक्का–पट्टामा सामेल हुनेसम्मका विकृतिहरु देखा परेका छन् ।

हाम्रा जनप्रतिनिधिहरुलाई यस्ता विकृतिमा फँस्ने छुट हुने छैन । स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त तथा सुशासनका केन्द्र बनाउनका लागि हामी निम्न उपाय अवलम्बन गर्ने छौं-

– स्थानीय तहको निर्वाचनमा उमेदवारी दाखिला गरेकै दिन हाम्रा उमेदवारहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने छन् ।

– स्थानीय सरकारको प्रमुख, उपप्रमुख र वार्ड अध्यक्षमा निर्वाचित हाम्रा जनप्रतिनिधिहरुले निर्वाचित हुनु अघि कुनै कारोवार वा ब्यवसाय गरेका रहेछन्र सो व्यवसायको कार्यकारी जिम्मा लिएका रहेछन् भने आफ्नो कार्यकालभरी आफूलाई सो ब्यवसायको कार्यकारी जिम्माबाट अलग भएको घोषणा गर्ने छन्र आफ्नो सम्पूर्ण समय निर्वाचित पदीय जिम्मेवारी पुरा गर्नमा लगाउने छन् ।
निर्वाचित पदाधिकारीहरुले कार्यकाल सकिएपछि मात्रै आफ्नो ब्यवसायको कार्यकारी जिम्मा लिन सक्ने छन् । वार्ड अध्यक्षभन्दा तलका जनप्रतिनिधिहरुले भने कानुन बमोजिमको आफूलाई अनुकूल पेसा–ब्यवसाय गर्न पाउने छन् ।

– हाम्रा जनाप्रतिनिधिले आफ्नो कुनै पनि रुपको सम्पत्ति सम्बन्धित स्थानीय सरकारबाट भाडा लिने गरी परिचालित गर्ने छैनन् । आफ्नो पालिकाका विकास निर्माणमा ठेक्का लिने वा सामान आपूर्ती गर्ने खालका आर्थिक स्वार्थका काममा सामेल हुने छैनन् ।

– भडकिलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने छन् । हाम्रा जनप्रतिनिधिले आफ्नो घरमा हुने विभिन्न पारिवारिक वा सांस्कृतिक आावश्यकताका कामहरू जस्तै बालबच्चाको पास्नी, ब्रतबन्ध, विवाह, पुर्खाहरुको सम्मानमा गरिने श्राद्ध वा स्मृतिसभाजस्ता कार्यक्रमको आयोजना गर्दा होस् वा चाडपर्वहरु मनाउँदा होस्, सकेसम्म सादाढंगले कम खर्चमा सम्पन्न गर्ने कुरामा विशेष ध्यान दिने छन् ।

प्रतिक्रिया दिनुहोस्