Logo
Logo

महिलाद्वारा सञ्चालित उद्योगमा रोजगारी


378
Shares

इलाम । इलामको कोशेली ललिपप धेरैको रोजाइमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किंदा कोसेलीको रुपमा प्रायः लिएर जाने गर्दछन् । निकै स्वादिलो मिठाईका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाले रोजगारीसमेत पाएका छन् ।

ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिलाले आत्मनिर्भर मात्र होइन धेरै महिला तथा पुरुषलाई रोजगारीसमेत दिएका छन् । धेरै महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमासमेत जाने गर्दछन् । तर इलामकी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिएकी छन् । सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट उनी धेरै महिला दिदीबहिनीलाई रोजगारी दिन सफल भएकी छन् । इलाम तिल्केनीकी दीपाको दैनिकी अहिले निकै व्यस्त छ । आठ वर्ष पहिले उनले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ जना महिलाले रोजगारी पाएका छन् । बिहान ४ बजेदेखि राति अबेरसम्म उनी काममा नै व्यस्त हुन्छिन् । उनको उद्योगबाट ललिपप र बम्बैसन बन्ने गर्दछ ।

इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौंसम्म पुग्ने गरेको छ । ६ जनाबाट सुरु भएको उनको उद्योगमा अहिले ४६ जना महिला दैनिक काम गर्छन् । रु. पाँच लाखबाट सुरु भएको उनको उद्योगले अहिले वार्षिक रु. ३५ लाखसम्म कमाइ गर्दै आएको छ । त्यस्तै, इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गरेकी छन् । उनले पनि ३४ जना कामदार राखेर सो उद्योग सञ्चालन गर्दै आएकी छन् । रु. चार लाखको लागतबाट सुरु भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उनले सुनाइन् । थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उनीहरु आत्मनिर्भरसमेत बन्दै गएका छन् । उद्योगमा सबैलाई कामको बाँडफाँट गरिएको छ ।

मिठाईका परिकारमा लेबल लगाउने, स्टिकर टाँस्ने, प्याकेजिङ गर्ने काममा महिला दिदीबहिनीले रोजगारी पाएका छन् । गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिलासमेत सो उद्योगबाट स्वरोजगार बन्दै गएका छन् । उनीहरुले श्रीमान वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताए । बरु उल्टै परिवारमा पैसा सहयोग गर्न पाएको भन्दै खुसीसमेत व्यक्त गरे । दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । १५ वर्ष पहिले सामान्यरुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । दूध पकाउन चुला बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो विद्युतीय प्रविधिबाट समेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ ।

दूध फटाएर छुर्पी, चिज, सेतो रसबरीलगायतका परिकार बनाइन्छ । हाल ललिपपलगायत दूधजन्य वस्तुको बजारमा समस्या नभएका कारण यस क्षेत्रमा जिल्लावासीको आकर्षण बढ्दै गएको छ । यस्ता उद्योग सञ्चालन गर्नेको संख्यासमेत बढ्दै गएको छ। कतिपय युवायुवती बेरोजगार बनेर विदेश पलायन भइरहेको अवस्थामा इलामका ललिपप उद्योगले धेरैलाई रोजगारी दिइरहेका छन् । कोरोना संक्रमणमा धेरै मार खाएका यी उद्योगलाई टिकाइ राख्न राज्यका सम्बन्धित निकायले भने ध्यान दिन नसकिरहेको उद्योगीको भनाइ छ । जिल्लामा अनुदानका केही कार्यक्रम आए पनि वास्तविक व्यक्तिसम्म पुग्न नसकेको उद्योगीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्