Logo
Logo

वैकल्पिक ऊर्जामा ज्वाइँनारायणको दौडधुप



आवेदकहरु नेकपाका एउटा न एउटा नेता वा शक्तिकेन्द्र समातेर नियुक्ति हुने दौडमा छन् । वर्तमान कामु कार्यकारी निर्देशक ढकाल एमालेका नेता नेत्र पन्थीका ज्वाई हुन् । उनलाई नेकपाका महासचिव बिष्णु पौडेलको पनि आशीर्वाद रहेको भनिन्छ । यद्यपि, अर्का आवेक मधुसुदन अधिकारी पनि रुपन्देहीकै भएको र उनले पनि महासचिव पौडेलकै आडमा आवेदन हालेको प्रचार गरिरहेका छन् । प्रमोद पोखरेल त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माका ज्वाई हुन् ।


काठमाडौं । वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्रालयले गएको मंसिर १ मा केन्द्रको कार्यकारी निर्देशकका लागि २१ दिनको समयसीमा तोकेर आवेदन माग गरी सूचना प्रकाशित गरेको थियो । केन्द्रको कार्यकारी निर्देशकका लागि ११ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा केन्द्रका कामु कार्यकारी निर्देशक नवराज ढकाल, मधुसुदन अधिकारी, प्रमोद पोखरेल, डा. सरोज कोइराला, डा. बलबहादुर पराजुली, डा. बुद्धि नेपाली छन् । त्यसैगरी डा. रविन्द्र ढकाल, अनन्त घिमिरे, डा. लक्ष्मण पौडेल र धर्म जीसी लगायतले आवेदन दिएका छन् । आवेदन दिनेहरुमध्येबाट छनोट समितिले सर्टलिष्टिङ गरिरहेको छ । केन्द्रको कार्यकारी निर्देशकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, ब्यवस्थापन, इन्जीनीयरीङ वा ऊर्जा सम्बन्धी बिषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी बैकल्पिक ऊर्जा क्षेत्रमा कम्तीमा १० बर्ष काम गरेको हुनुपर्ने न्यूनतम शैक्षिक योग्यता र अनुभव आवेदकसँग हुनुपर्नेछ । छनोट समितिकै एक सदस्यका अनुसार कतिपय उम्मेदवारको योग्यता र अनुभव नै पुगेको छैन । ऊर्जा सचिव दिनेश घिमिरे काठमाडौं बाहिर भएका कारण बिलम्ब भएको हो, एक दुई दिनमै सर्टलिष्टिङ हुन्छ ।
आवेदकहरु नेकपाका एउटा न एउटा नेता वा शक्तिकेन्द्र समातेर नियुक्ति हुने दौडमा छन् । वर्तमान कामु कार्यकारी निर्देशक ढकाल एमालेका नेता नेत्र पन्थीका ज्वाई हुन् । उनलाई नेकपाका महासचिव बिष्णु पौडेलको पनि आशीर्वाद रहेको भनिन्छ । यद्यपि, अर्का आवेक मधुसुदन अधिकारी पनि रुपन्देहीकै भएको र उनले पनि महासचिव पौडेलकै आडमा आवेदन हालेको प्रचार गरिरहेका छन् । प्रमोद पोखरेल त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माका ज्वाई हुन् । उनले पनि ससुराले प्रधानमन्त्री केपी ओलीसँग जोडबल गर्ने भनेर आवेदन दिएका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनका विज्ञान प्रविधि सल्लाहकार रहेका डा. रविन्द्र ढकाल पनि केन्द्रको कार्यकारी निर्देशकका प्रबल दाबेदार मानिन्छन् । गोरखाका उनी अध्यक्ष दाहालसँग निकट बुद्धिजीवी मानिन्छन् । मध्यपश्चिमान्चल विश्वविद्यालयका डिन भइसकेका दाङका अनन्त घिमिरेले सभामुख कृष्णबहादुर महरा र ऊर्जामन्त्री बर्षमान पुनको संकेत पाएकै कारण आवेदन हालेको चर्चा छ । अर्का आवेदक डा.बुद्धि नेपालीले यसअघि दलित सम्बन्धी राजनीतिक नियुक्ति खाइसकेका हुन् । लक्ष्मण पौडेल पुल्चोक इन्जीनीयरीङ क्याम्पसका प्राध्यापक हुन् । डा. सरोज कोइरालाले यसअघि लगानीबोर्डको प्रमुखमा पनि आवेदन दिएका थिए । बलबहादुर पराजुली बैकल्पिक ऊर्जामा जापानबाट पीएचडी गरेका हुन् । उनी नेकपा अर्थात् एमालेका इमान्दार बुद्धिजीवीका रुपमा चिनिन्छन् ।
यी आवेदकमध्ये केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल, मधुसुदन अधिकारी, डा. रविन्द्र ढकाल र अनन्त घिमिरेबीच नै प्रतिस्पर्धा देखिन्छ । राजनीतिक शक्तिको आशीर्वाद पनि उनीहरुसँगै छ । यी चार मध्ये मधुसुदन अधिकारी र अनन्त घिमिरेलाई बनाउन शक्तिकेन्द्रको चर्को प्रतिस्पर्धा देखिएको छ । केन्द्रको कार्यकारी निर्देशक मधुसुदन अधिकारीलाई बनाउनका लागि कामु कार्यकारी निर्देशक ढकाललाई रेसबाटै आउट गर्ने खेल पनि भइरहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्