Logo
Logo

आइफा अवार्ड नेपालमा हुने पक्का, दर्जनौं बलिउड स्टार नेपाल आउने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ असार । बलिउडको प्रतिष्ठित ‘इन्टरनेसनल इन्डिया फिल्म अवार्ड (आइफा)’ नेपालमा आयोजना हुने भएको छ। सरकारले नेपाल भ्रमण वर्ष २०२० र पर्यटन प्रवर्द्धनका लागि ‘आइफा अवार्ड–२०१९’ नेपालमा आयोजना गर्ने भएको हो।
उक्त अवार्ड नेपालमै गर्ने भने विषय पहिलेदेखि नै उठे पनि निर्णय हुन सकेको थिएन। अन्योलमा रहेको अवार्ड वितरण कार्यक्रम नेपालमै गर्ने गरी मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको छ।


असार ३ गते बसेको मन्त्रिपरिषद् बैठकले अवार्ड वितरण कार्यक्रम नेपालमै गर्ने गरी निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जनाकारी दिए।

यो कार्यक्रम अमेरिका, युरोप तथा दुबईमा हुँदै आएको थियो। अवार्ड वितरणका कार्यक्रमको नेतृत्व नेपाल पर्यटन बोर्डले लिने गरी निर्णय भएको उनले जानकारी दिए।

अवार्ड वितरण कार्यक्रमको सहआयोजक काठमाडौं महानगरपालिका रहनेछ भने उद्योग वाणिज्य महासंघ, सिएनआईको सहयोग र सहकार्य पनि रहनेछ।

अवार्डमा ६ सयभन्दा बढी प्रतिििनध सहभागी रहनेछन् भने ६० भन्दा बढी भारतीय कलाकार तथा चर्चित व्यक्तिको उपस्थित रहने मन्त्रालयले जनाएको छ।

अवार्ड वितरण कार्यक्रमको समन्वय, व्यवस्थापन तथा सुरक्षाका लागि सरकारले एउटा कमिटीसमेत बनाएको छ। कमिटीको संयोजकमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा रहनेछन्। कमिटीमा काठमाडौं महानगरपालिकाका मेयर, पर्यटन, गृह, अर्थ,सञ्चार, परराष्ट्र, भौतिक मन्त्रालयमका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष, भ्रमण वर्ष २०२० मा राष्ट्रिय संयोजक सुरज वैद्य, चलचित्र विकास बोर्डका अध्यक्ष, उद्योग वाणिज्य महासंघका अध्यक्ष, उद्योग परिसंघको अध्यक्ष, चेम्बर अफ कर्मसको अध्यक्ष, होटल संघका नेपालका अध्यक्ष र नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी लगायत रहेका छन्। यो कार्यक्रमले पर्यटन क्षेत्रलाई ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्