Logo
Logo

छिमेकी देशमा कोरोना बढ्दा नेपालमा पनि जोखिम : स्वास्थ्य मन्त्रालय


819
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी देशहरुमा कोभिड–१९ को संक्रमण बढिरहेकाले नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । भारतलगायतका छिमेकी देशहरुमा केही दिनयता कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेको उल्लेख गर्दै मन्त्रालयले आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सजग रहन अपील गरेको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राद्वारा आज जारी विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएजस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाइएको छ । कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै यस विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । ‘कोभिड–१९ को संक्रमण दर भारतसहित छिमेकी राष्ट्रहरूमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायम नै रहेकाले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनि जनस्वास्थ्यको मापदण्डहरूको पालना गर्न र गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

साथै कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने र जारी खोप अभियानमा निरन्तर साथ दिने सबैमा मन्त्रालयले आभार प्रकट गर्दै खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भएपछि बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्