काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्य चिन्ह कब्जा गर्न खोज्नेहरुको थुतुनो जलिरहेको बताएका छन् ।
बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।
उनले हनुमानले सूर्य सिध्याउँछु भन्दा आफ्नै मुख जलेको उदाहरण दिँदै हनुमानले जस्तै एमालेको सूर्य सिध्याउँछौ भनेर खान खोज्जेहरुको थुतुनो अहिले जलिरहेको बताए ।

उनले भने, ‘उनीहरुकै थुतुनो अहिले जलिरहेको छ । एक वर्षअघि यिनीहरूले भयंकर षड्यन्त्र गरेर पार्टी र सूर्य कब्जा गर्न खोजेका थिए । तर, मैले जनमत खण्डित भएकाले प्रतिनिधिसभा भंग गरेर पार्टी जोगाएँ ।’
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूलाई प्रचण्ड–माधव समूहले फौजदारी अभियोगको १९ पृष्ठ लामो आरोपपत्र दर्ता गरेर पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट हटाएर थुन्नेसम्मको षड्यन्त्र गरेको दावी गरे । एमाले र माओवादीको एकता भंग भएर जनमत खण्डित भएपछि प्रतिनिधिसभा भंग गरेको उनको जिकिर छ ।














