काठमाडौं । अहिले देशमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा बनेको न्यून चापिय रेखाको प्रभावसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँको मौसम बिहान सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ । त्यस्तै, गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश नं. १ का केही स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यसैगरी, राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँको मौसम सामान्यतया सफा रहने जनाइएको छ । प्रदेश नं. १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
यसैबीच, देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ । यस्तै, देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।














