मकवानपुर । गएराति अज्ञात समूहले मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको छ । हेटौंडा उपमहानगरपालिका–९ मा निर्माणाधीन दिव्य बाल उद्यान (पार्क)मा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको हो ।
बिहान पार्कमा मर्निङ्वाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेर पार्क व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना भएको आरोप लगाएका छन् । उनका अनुसार मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा भेटिएको हो ।
पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको अध्यक्ष भण्डारीको भनाइ छ । त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिक मात्रै तोडफोड गरिनुलाई मदनको विचारसँग असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारीले बताए । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारीसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।














