मोरङ । मोरङमा नेकपा एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिने तयारी गरेको छ । गठबन्धनको बैठकविना सहमति टुंगिएपछि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिने तयारी गरेको हो ।

समाजवादीले विराटनगर महानगरपालिकाबाहेक १६ वटै स्थानीय तहमा एकल उम्मेदवारी दिने निर्णय गरेको मोरङ जिल्ला प्रचार विभाग प्रमुख ओसीम आलमले जानकारी दिए । उनले भने, ‘एकीकृत समाजवादी पार्टीका जिल्ला इन्चार्ज हर्कमान गुरुङको अध्यक्षतामा बसेको बैठकले गठबन्धनमा सहमति हुन नसकेको निश्कर्ष निकाल्दै मोरङका १६ वटा पालिकामा एकल उम्मेदवारी दिने निर्णय गरेको हो।’
आलमले सबै स्थानीय तहमा उम्मेदवारको नामसमेत टुंगो लागिसकेको बताए। बैठकले विराटनगर महानगरपालिकालगायत सबै स्थानीय तहमा निर्वाचन परिचालन समितिसमेत गठन गरेको आलमले जानकारी दिए।














