काठमाडौं । जनकपुर उपमहानगरपालिकाको मेयर पद जनता समाजवादी पार्टीलाई दिएको विरोधमा नेपाली कांग्रेसका नगर सभापति मनोजकुमार साहले पदबाट राजीनामा दिएका छन् । उनले आजकै मितिबाट आफू स्वतन्त्र भएको र स्वतन्त्र रुपमा निर्वाचन लड्ने बताएका छन् ।

‘जसपाको उम्मेदवार नराम्रो मानिस आउने भएकाले हामीले सहयोग गर्दैनौं’, उनले भने, ‘यो नेपाली कांग्रेसको उर्वर क्षेत्र हो। तर, नेपाली कांग्रेसलाई पाखा लगाउने काम केन्द्रबाट भएको छ ।’
उनले नगर सभापति र पार्टी सदस्यबाट अहिलेलाई राजीनामा दिएको पत्रकार सम्मेलनमार्फत् घोषणा गरे । वैशाख ११ र १२ गतेसम्म पनि पार्टीले निर्णय सच्चाएन भने आफू स्वतन्त्र उम्मेदवार उठ्ने उनले साहले घोषणा गरे ।
‘आजबाट मैले नगर सभापति र साधारण सदस्यबाट राजीनामा दिएका छु’, उनले भने ‘हामीले अहिले केही समयका लागि राजीनामा दिएका छौं । तर, पार्टीले निर्णय नसच्चाएर हामी अलग नै हुन्छौं ।’
जसपाको उम्मेदवार भ्रष्टाचार गर्ने मानिस आउने आरोप उनले लगाए। उनले सबै कार्यकर्ताको मत अनुसार आफूले राजीनामा दिएको बताए।














