Logo
Logo

महानगरका उम्मेदवार छान्न काँग्रेस बैठक बस्दै


2.6k
Shares

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार (आज) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति बैठक शनिबार बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि काँग्रेसको निर्देशन गरेको छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषयसँगै सत्ता साझेदार दलबीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ ।

कार्यसम्पादन समिति बैठक शुक्रबार पनि बस्ने भनिए पनि बैठक आजका लागि सारिएकोहो । शुक्रबार राति साढे ११ बजेसम्म बसेको बैठकमा सहमति नभएपछि आज बस्ने भएको हो । काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएपनि ललितपुर र विराटनगरको विषयमा सहमति हुन सकेको छैन ।

प्रकाशमान सिंहकी पत्नीलाई काठमाडौंको मेयर उम्मेदवार बनाउने काँग्रेसमा सहमति ​काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले महानगरपालिका प्रमुख र उपप्रमुख गरी छ जना उम्मेदवार छान्ने तयारी छ । सत्ता गठबन्धनभित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।

काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा गठबन्धनबाट साझा उम्मेदवारी दिने छ ।

प्रतिक्रिया दिनुहोस्