Logo
Logo
कला

‘मसँग काम गर्न सक्ने अनुभव र साहस छ’



स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा राजनीतिक माहोल गर्माएको छ । दलका नेता कार्यकर्ताको दौडधुप ह्वात्तै बढेको छ । यसैबेला सुनिता डंगोललाई पनि चुनावी चटारोले छोएको छ । ‘मिस नेवाः २०११’को विजेता सुनिता सञ्चारकर्मी र सामाजिक सेवामा सक्रिय छिन् । तर, यसपटक उनले काठमाडौं महानगरपालिकाको मेयर बन्ने आँट गरेकी छन् । मेयरमा उम्मेदवारी दिने तयारीसँगै ८ खम्बे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेकी छन् । ‘सानैदेखि राजनीतिक गर्नुपर्छ’ भन्ने चेतना भएकी २९ वर्षीया सुनिता भन्छिन्, ‘मिस नेवाः बन्नुअघि नै सामाजिक सेवा गर्नुपर्छ भन्ने मेरो सोच थियो । समाजसेवाको सबैभन्दा उत्तम प्लेटफर्म राजनीति नै हो ।’ राजनीतिमा युवा र महिलाको सहभागिता बढाउनुपर्छ भन्ने मान्यता बोेकेकी सुनिता डंगोलसँग एमपी सुब्बाको जम्काभेट :

मेयरको उम्मेदवारी दिने सोच कसरी आयो ?
ममा सानैदेखि राजनीतिक चेत थियो । समाजसेवा गर्नुछ भने राजनीति सबैभन्दा विशिष्ट यात्रा हो भन्ने बुझेर नै काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने सोच बनाएकी हुँ । देशको व्यवस्था, नीति, नियम बनाउने प्रणालीमा युवाको पहुँच हुनुपर्छ । जसले गर्दा हामीले सोचेजस्तो समाज बनाउन सक्छौँ । यही सोचका साथ मैले कामहरू गर्दै आएँ, अनुभवहरू पनि बटुल्दै आएँ ।

उमेरले सानै देखिनुहुन्छ, मेयरमा महानगरवासीले पत्याउँलान् ?
कानुनले २१ वर्ष नाघेपछि मेयरमा उम्मेदवारी दिन सकिन्छ । म त २९ वर्ष पुगिसकेँ । अर्कोकुरा, काम उमेरले गर्ने होइन । हामीलाई काम गर्न सक्ने परिपक्व र अनुभवी मेयर चाहिएको छ । उमेरले ६० वर्ष भएर पनि अनुभव भएन भने त्यसले केही गर्न सक्दैन । मसँग अनुभव छ, दक्षता छ । त्यसैले नपत्याउने भन्ने प्रश्नै आउँदैन ।

वर्तमान राजनीति अवस्थालाई कसरी बुझ्नुभएको छ ?
अहिलेको नेपालको राजनीतिक अवस्था अव्यस्थित, लथालिङ्ग छ । त्यसैले देश र राजनीतिलाई व्यवस्थित बनाउन सक्ने व्यक्तिहरूको खाँचो छ । देशलाई व्यवस्थित गर्ने काम युवाहरूले मात्र गर्न सक्छन् ।

दलका नेताहरूको कामकारबाहीदेखि दिक्क भएर यो क्षेत्रमा आउनुभएको हो ?
देशको राजनीतिक सिस्टमप्रति मलाई मात्र होइन, थुप्रै युवाहरूमा वितृष्णा छाएको छ । देशका नेताहरूको कामकारबाहीप्रति युवा सन्तुष्ट छैनन् । त्यो वितृष्णा हुँदाहुँदै आशाको केन्द्रविन्दु पनि छ है भन्नका लागि मैले मेयरमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ । अर्कोकुरा, राजनीतिमा युवालाई धेरै परिचालन गरिन्छ । तर, अवसर दिइँदैन । त्यसकारण नीति निर्माणको तहमा युवा र महिलाको पहुँच पुगेको छैन । त्यो पहुँच बढाउनका लागि मैले यो पाइला चालेकी हुँ ।

मिस नेवा भइकन ग्ल्यामरस फिल्डमा देखिनुभएन । ग्ल्यामरस क्षेत्रमा रुची नभएर हो ?
मिस नेवामा आउनुअघि नै म मिडियामा कार्यरत थिएँ । विभिन्न तरिकाबाट समाजसेवा गर्दै आएकी थिएँ । त्यसलाई अझ राम्ररी अगाडि बढाउन चाहन्थेँ । त्यसैका लागि मिस नेवामा आएँ । र, मिस नेवा भनेको ग्ल्यामर होइन, कल्चरल ब्युटि प्याजेन्ट हो । मिस नेवा ग्ल्यामरभन्दा पनि प्रतिभाको प्रस्फुटन गर्ने थलो हो । जहाँ मैले आफ्नो प्रतिभा निखारेर मिस नेवा जितेँ । त्यसपछि मेरो सुरुको बाटोलाई निरन्तरता दिएँ ।

मिस नेवा भएपछि के–के गर्नुभयो ?
मिस नेवा भएपछि मलाई आफ्नो भाषा र कल्चरप्रति माया बढ्न थाल्यो । त्यसैले सांस्कृतिक अभियान्ताको रुपमा काम गरेँ, गर्दै पनि आएकी छु । र, त्यो काम गरिरहँदा काठमाडौं महानगरपालिकाको सहरी योजना आयोजनामा बसेर पनि काम गर्ने मौका पाएँ । जहाँ ममा भएको शिप र ज्ञानबाट सेवा गर्ने मौका पाएँ । त्यही अनुभवले पनि राजनीतिमा आउने निर्णय गरेकी हुँ ।

सहरी योजना आयोगमा कति समय काम गर्नुभयो ?
यो काठमाडौं महानगरपालिका अन्तर्गतको योजना आयोग हो । मैले चार वर्षसम्म सामाजिक शिक्षा विकास क्षेत्रमा रहेर काम गरेँ ।

तपाईं कुनै दलमा आवद्ध हुनुहुन्छ ?
अहिलेसम्म कुनै पनि राजनीतिक दलमा आवद्ध भएको छैन । तर, राजनीतिक रुपमा आउने मेरो पहिलो प्राथमिकता हो । त्यसैले उम्मेदवारी पनि दलीयरुपमा दिने सोच छ । किनकि, म बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने भएकाले मेरो उम्मेदवारी दलीय हुनसक्छ । दलीय रुपमा आउँदा काम गर्न सहज र सम्भव हुन्छ भन्ने हो । कुन पार्टीमा आवद्ध हुन्छु भन्ने केही दिनमै थाहा हुन्छ ।

तपाईंको ८ खम्बे प्रतिवद्धता पढ्दा आकर्षक छ, जित्नुभयो भने पूरा गर्नुृहुन्छ ?
पूरा गर्न सक्ने भएरै प्रतिवद्धता गरेकी हुँ । मेरो प्रतिवद्धता गर्न नसक्ने आकाशको तारा झार्ने खालको छैन । मैले गर्न सक्ने विकास र परिवर्तनका कामहरूलाई लिएर प्रतिवद्धता पत्र तयार गरेकी हुँ ।

यदि, महानगरको मेयर बन्नुभयो भने ?
काठमाडौं महानगरपालिकाले अहिले जे काम गरिरहेको छ, त्यसलाई निरन्तरता दिँदै व्यवस्थित गर्छु । विशेषगरि, पार्किङको समस्या ट्राफिक टाक्स फोर्स बनाएर समाधान गर्ने छु । फोहोर व्यवस्थापनलाई आजको भोलि व्यवस्थित गर्ने काम गर्छु । मैले जनाएका प्रतिवद्धताअनुसार हुबहु काम गर्ने छु ।

प्रतिक्रिया दिनुहोस्