काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन लोकतान्त्रिक गणतन्त्र र संविधानलाई असफल बनाउने पड्यान्त्र भएको नेपाली कांग्रेसले जनाएको छ ।
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पार्टीको सङ्कल्प प्रकाशित गर्दै ओली नेतृत्वको सरकारले २०७७ पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन जनता र जनादेशमाथि ठूलो षड्यन्त्र र अपराध भएको कांग्रेसको टिप्पणी छ ।

ओलीले लोकतन्त्र र संविधानको आधारभूत मूल्य र मर्ममाथि नै सांघातिक आक्रमण गरेको कांग्रेसको भनाइ छ । कांग्रेसले भनेको छ– प्रतिनिधिसभा विघटन गरेर सर्वसत्तावादी र अधिनायकवादी शासनलाई थप संस्थागत गर्न सम्पूर्ण शक्ति प्रयोग गरिएको थियो । प्रधानमन्त्री ओलीको यस्तो अधिनायकवादी प्रवृत्तिले लोकतन्त्र र संविधानको आधारभूत मूल्य र मर्म माथि नै सांघातिक आक्रमण गरेको थियो । त्यसैले प्रतिनिधिसभा विघटनपछि लोकतन्त्र होइन, अध्यादेशतन्त्र शुरू भएको थियो; संविधानवाद होइन, अधिनायकवाद र सर्वसत्तावादको घोषित अध्याय प्रारम्भ गरिएको थियो । जनता र जनादेश माथि यो भन्दा ठूलो षड्यन्त्र र अपराध अरु के हुनसक्छ ?’
सरकार बनेकै दिनदेखि सुनियोजित रुपमा सार्वभौम संसदलाई अप्रासंगिक र सरकारको रबर स्ट्याम्प बनाउने कुचेष्टा गरेको कांग्रेसले आरोप लगाएको छ ।
कांग्रेसले भनेको छ– ‘सरकार लोकतान्त्रिक प्रणालीमा जस्तो संसद र जनताप्रति उत्तरदायी र जवाफदेही होइन, कम्युनिस्ट प्रणालीमा जस्तो सम्पूर्ण अधिकार केन्द्रिकृत गरी सर्वसत्तावादी र अधिनायकवादी पद्धति संस्थागत गर्न चाहन्थ्यो । सरकारले कार्यपालिकाअन्तर्गतका निकाय र अधिकार मात्रै केन्द्रिकृत गरेको होइन, सार्वभौम संसद र स्वतन्त्र न्यायालयलाई समेत सरकारको प्रभाव र नियन्त्रणमा राख्ने दुस्साहस गर्दैआएको थियो । त्यसैले संसदको प्रतिष्ठा, गरिमा र प्रभाव स्खलित हुँदै गइरहेको थियो ।’














