
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा महानगरपालिकाको टिकट वितरण गर्ने संयन्त्र ‘केन्द्रीय संसदीय समिति’ गठन गरेको छ ।
कांग्रेसको विधानअनुसार टिकट वितरण गर्न संसदीय समिति गठन गर्नुपर्ने हुन्छ । तर, समिति नै गठन नगरी टिकट वितरण गर्न लागिएको भन्दै आलोचना भइरहेको बेला अन्तिम अवस्थामा कांग्रेसले समिति गठबन गरेको हो ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको छ । विधानमा भएको व्यवस्थाअनुसार समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरु पदेन र सभापतिले मनोनित गर्ने ११ जना केन्द्रीय सदस्य समितिका सदस्य हुनेछन् ।
गठन भए लगत्तै बसेको समितिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई समितिको सदस्य मनोनित गरेको छ । पोडेललाई मनोनित गरिएसँगै समितिको संख्या हाललाई १४ जना पुगेको छ ।
संसदीय समिति गठबन भएसँगै कांग्रेसमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने बाटो खुलेको छ । संसदीय समिति नै गठन गरे पनि समितिले भने महानगर र उपमहानगरको उम्मेदवार छनोट गरेर टिकट विरतण गर्ने अधिकार भने सभापति शेरबहादुर देउवालाई दिएको छ ।














