काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ठूला दलले आज उम्मेदवारी दर्ता गर्ने भएका छन् । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेको थियो ।

हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका अनुसार हिजो देशभर १० हजार ५३३ जनाले उम्मेदवारी दिएका छन् । पालिका अध्यक्ष र मेयरमा ९८७, उपाध्यक्ष र उपमेयरमा ५०८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ हजार ९२१, वडा सदस्यमा ३ हजार ३३८, महिला सदस्यमा १ हजार ५७६, दलित महिला सदस्यमा १ हजार २०३ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार ५०६ जना महिला छन् । आयोगले मनोनयन दर्ताका लागि आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ ।
हिजो पहिलो दिन मुख्य दलका तर्फबाट उम्मेदवारी मनोनयन कम परेको आयोगले जनाएको छ । निर्वाचन कार्यक्रम अनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ । भोलि दाबी विरोधको समय निर्धारण गरिएको छ । बुधवार र बिहीवार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिवार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।














