Logo
Logo

वैशाख १५ र १६ गते एथ्लेटिक्सको छनोट


315
Shares

काठमाडौं । चीनको हान्झोउ सहरमा सेप्टेम्बरमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि एथ्लेटिक्सको छनोट यही बैशाख १५ र १६ गते हुने भएको छ । नेपाल एथ्लेटिक्स संघका सचिव राधाकृष्ण (आरके) विष्टले आइतवार सूचना जारी गर्दै एसियाली खेलकुदका लागि दुईदिने प्रारम्भिक छनोट हुने जनाएका छन् ।

छनोट प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ । ‘एसियाडमा एथ्लेटिक्स खेलको पनि सहभागिता हुने हुँदा खेलाडीहरुको दक्षतालाई मध्यनजर गर्दै प्रारम्भिक छनोट प्रतियोगिता गर्नुपर्ने भएकाले काठमाडौंको दशरथ रंगशालामा २०७९ वैशाख १५ र १६ गतेका दिन छनोट गर्ने जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ । छनोटमा सहभागिताका लागि एथ्लेटिक्स संघले चार मापदण्डसमेत तोकेको छ । जसमा १३ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरु, दक्षिण एशीयाली खेलकुद पछिका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई पदक विजेता खेलाडीहरु, १३ औं दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरु र म्याराथनको हकमा नेपालगञ्ज, पोखरा र नेपाल आर्मी म्यारथनका उत्कृष्ट खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

छनोटमा ५ विधा समावेश गरिएको छ । जसमध्ये ८०० र १५०० मिटर इभेन्टमा पुरुषको मात्र समावेश छ भने ५०००, १०००० मिटर र म्याराथनमा भने पुरुष र महिला दुवै समावेश गरिएको छ । एसियन गेम्स चीनको हान्झोउमा सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुनेछ । यसैबीच, एसियाडका लागि खेलाडी छनोट गर्न बक्सिङ संघले आयोजना गर्न लागेको प्रतियोगिताको मिति फेरबदल गरिएको छ । यसअघि वैशाख १२ देखि १५ गेत सम्मका लागि निर्धारित प्रतियोगिता वैशाख १४ देखि १७ गतेसम्म हुने बक्सिङ संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्