Logo
Logo

स्थानीय तहबारे भ्रम चिर्न सफल सुनिलस्मृति गाउँपालिका


पुष्पा महरा

1.6k
Shares

रोल्पा । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १३ वर्ष, संविधानमा लिपिबद्ध भएको ६ वर्ष र कार्यान्वयनमा आएको ४ वर्ष बितेको छ । केन्द्र अर्थात् संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सत्ता संरचनाको अभ्यास नेपालका लागि नौलो प्रयोग र अभ्यास थियो ।

१० वर्षे माओवादी जनयुद्ध र १९ दिने आन्दोलनको बलमा स्थापित भएको संघीय गणतन्त्र र मुख्य गरेर स्थानीय तह कार्यान्वयनको विषयमा थुप्रै भ्रमहरु थिए । ती भ्रमहरु चिर्ने भूमिकामा थिए–नेपालमा बनेका ७ सय ५३ स्थानीय तह । त्यसैमध्येको एक स्थानीय तह हो– रोल्पा जिल्लाको सुनिल स्मृति गाउँपालिका । पहिले सुवर्णावती गाउँपालिका पछि सुनिलस्मृति गाउँपालिका भयो । माओवादी नेता किमबहादुर थापा ‘सुनिल’को नामबाट यस गाउँपालिकाको नामाकरण गरिएको हो । माओवादी नेता किमबहादुर थापा ‘सुनिल’को नामबाट नामाकरण गरिएको यस गाउँपालिकामा उनको सालिक राखिएको छ । जनयुद्धका क्रममा तत्कालीन शाही सेनाको आक्रमणमा परी सुनिलको सहादत भएको थियो ।

जम्मा ८ वटा वडा रहेको सुनिलस्मृति गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादी केन्द्रले ४ वटा वडा जित्न सफल भएको थियो । यस पालिकाको अध्यक्ष गुणेन्द्र घर्ती र उपाध्यक्ष बाग्मती थापा छन् । यस गाउँपालिकामा गरिखाने वर्ग (निम्न आय भएका) हरुको बसोबास रहेको छ । ०७४ सालमा यस गाउँपालिकामा माओवादी केन्द्रले नेतृत्व लिएपछि यहाँ गाँसबास, स्वास्थ्य, शिक्षा, विकासलगायतका कुराहरुको जग बसाएको छ । जनताको माग बमोजिम योजना बनाएर बजेट अनुसार केही कामहरु सुरु पनि गरिसकिएको र ती कामहरु अब आउने नेतृत्वले पूर्ण गर्नुपर्ने पहिलो प्राथमिकता दिनुपर्ने अध्यक्ष घर्तीको भनाइ छ ।

वडाका बस्तीसम्म सडक सञ्जालहरु
सुनिलस्मृति गाउँपालिकामा हिजोका दिनमा केही वडासम्म मात्रै सडक पुगेको थियो । अहिले गाउँ–गाउँमा मोटर बाटो पुगेको छ । यस गाउँपालिकाको वडा नं. ५ स्थित रिघिमबाहेक सम्पूर्ण वडाका बस्तीसम्म सडक सञ्जाल पुगेको छ, नयाँ ट्र्याक खोलिएको छ । सबै वडा कार्यालयसम्म बस पुर्याउने गरी मोटरबाटो चौडा बनाइएका छन् । बस सञ्चालनका लागि पाँच वटा मोटर गुड्न सक्ने सडक बनाइँदैछ । जसमध्ये दुई वटा सम्पन्न भइसकेको छ भने तीन वटा निर्माणाधीन छ ।

स्वास्थ्य : ‘होम डेलिभरी अन्त्य’को घोषणा
निम्न आय भएको क्षेत्रमा स्वास्थ्यको अवस्था जटिल हुन्छ । यही कुरालाई ख्याल गर्दै सुनिलस्मृति गाउँपालिकाले वडा नं. ५ र २ मा आफ्नै स्वास्थ्य चौकी भवन तयार पारी दक्ष जनशक्तिसमेत खटाएको छ । त्यस्तै, वडा नं. ३ र ५ मा स्वास्थ्यचौकी विस्तार गरी जनतालाई सेवा दिइएको छ । संस्थागत सुत्केरी गराउनका लागि दक्ष जनशक्ति, प्रविधिको प्रत्येक वडामा व्यवस्था गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति नभए स्थानीय स्तरबाट अस्थायी दरबन्दीमा जनशक्ति थपिने काम हुन्छ । केही दिन अघि मात्रै पनि ११ जना स्वास्थ्यकर्मीहरु थप गरिएको थियो । उनीहरुबाट जनताले सेवा लिइरहेका छन् । हाल वडा नं. ६ लाई ‘होम डेलिभरी अन्त्य’को घोषणा भएको छ भने २०८२ सम्ममा होम डेलिभरीलाई शून्यमा झार्ने पालिकाको लक्ष्य छ ।

शिक्षा : ‘हाम्रो स्कुल, राम्रो स्कुल र उत्कृष्ट स्कुल’

सुनिलस्मृति गाउँपालिकाको शैक्षिकस्तर उकास्नका लागि यहाँ विभिन्न स्थानमा विद्यालय भवनहरु निर्माण गरिएको छ । विद्यालयमा आरसीटी भवन, दुई कोठे भवन बनाउने काम पनि गाउँपालिकाले गरेको छ । यस पालिकामा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठन–पाठन हुन्छ । गत वर्षदेखि सुरुवात गरिएको यस योजनाअन्तर्गत कक्षा १२ लाई अनिवार्य र निःशुल्क शिक्षाको रुपमा प्रदान गरिएको छ । विद्यालयका छात्राहरुलाई पढाइमा सहयोग पुग्ने उद्देश्यले ‘छात्रवृत्ति’ कार्यक्रम पनि अगाडि बढाइएको छ । शैक्षिक क्षेत्रमा गुणस्तर कायम गरी सबै माध्यमिक तहहरुमा प्रविधियुक्त ढंगबाट पढाइ हुन्छ ।

गाउँपालिकामा सञ्चालित माध्यमिक विद्यालयहरुलाई स्मार्ट स्कुलको रुपमा विकास गर्ने गाउँपालिकाको लक्ष्य छ, जुन सुरुवात गरिसकिएको छ । विद्यार्थीहरुमा शारीरिक मानसिक रुपमा तन्दुरुस्त बनाउन ‘हाम्रो स्कुल, राम्रो स्कुल र उत्कृष्ट स्कुल’ भन्ने नारासहित पालिकाको पहलमा बिहानीमा पिटी परेड गराइन्छ । हिजो जनताले विद्यालय स्थापना गरी पैसा उठाएर निजी शिक्षकलाई तलब खुवाइरहेका थिए । पालिका बनेपछि यहाँका तिनै ४१ जना निजी शिक्षकहरुको सेवा अन्त्य गरी गाउँपालिकाले सूचना निकालेर, परीक्षा गराई, पालिकास्तरीय भोलेन्टियर शिक्षकको रुपमा काममा खटाएको छ ।

विद्युत : ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण
सुनिलस्मृति गाउँपालिकाको करिब ९५ प्रतिशत क्षेत्रमा विद्युतीकरण गरिएको छ । केही बस्तीहरुमा मिटर बक्स जडान गर्ने कार्य जारी छ, जुन यही वर्ष सम्पन्न गर्ने योजना छ । माओवादीले नेतृत्व गर्नुपूर्व यस क्षेत्रमा ३५ प्रतिशत जनताले मात्रै बिजुली बाल्न पाएका थिए ।

प्रविधिमा अग्र पाइला
यस गाउँपालिकाका विभिन्न स्थानमा नेपाल टेलिकम/एनसेललगायत फोरजीका टावरहरु देख्न सकिन्छ । जसले गर्दा गाउँमा सूचना/सञ्चार क्षेत्रबाट बाहिर छैन भन्ने प्रष्ट देख्न/बुझ्न सकिन्छ । यो आर्थिक वर्षमा गाउँपालिकाले सुलभ नेटका लागि सबै वडासम्म फाइबर बिछ्याउने काम सुरु भएको छ । यहाँका विद्यालय, वडा कार्यालय, मालपोत तथा स्वास्थ्य चौकीहरुमा समेत डिजिटल प्रणाली जडान गरिएको छ । जसले कामलाई छिटो छरितो र सहज तरिकाले सम्पन्न गर्न सकिन्छ ।

रोजगारी : ‘एक वडा, एक उत्पादन’, प्रत्येक वर्ष ५०० स्वरोजगार
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुनिलस्मृति गाउँपालिकामा प्रभावकारी रह्यो । यहाँका सम्पूर्ण वडामा उक्त कार्यक्रम लागू गरियो । यो गाउँपालिका कृषिप्रधान क्षेत्र भएकाले कृषिको प्रवर्द्धन तथा जनताको जीवनस्तर उकास्नका निम्ति ‘प्रत्येक वडा, एक उत्पादन’ भन्ने नारा नै अघि सारेको छ । फलफूल उत्पादन हुने क्षेत्रलाई ‘फलफूल जोन’, तरकारी उत्पादन हुने क्षेत्रलाई ‘तरकारी जोन’, मकै जोन, बाख्रा, पशुपालन जोन, मह जोन, चिउरी जोन आदि गरी छुट्याइएको छ ।

व्यावसायिक कृषि उत्पादनमा सहयोग पुर्याउनका लागि कृषकलाई तालिम दिने, बाख्रा, कुखुरा उत्पादन तथा फार्म सुधारका लागि पालिकाले आर्थिक सहयोग गर्छ । पालिकामा दर्ता भएका ३१ वटा सहकारीमार्फत् कृषकको पहुँचसम्म आर्थिक लगानी पुग्ने गर्दछ । जनतालाई स्वरोजगार बनाउने उद्देश्यले यहाँ पालिकाले प्रत्येक वर्ष ५०० स्वरोजगार बनाउने गरी विभिन्न तालिम दिएको छ । पालिकाले हेभी–लाइट ड्राइभिङ, कम्प्युटर ट्रेनिङ, मोवाइल रिपेरिङ, सिलाइ कटाइ, व्युटी पार्लर, इलेक्टिकल, घरेलु तथा साना उद्योगसम्बन्धी विभिन्न तालिमहरु दिने गरेको छ । यस्ता तालिमबाट १५ सय बढी लाभान्वित भइसकेका छन् ।

पर्यटन : युद्ध पर्यटनदेखि र्याफ्टिङ्गसम्म
पहिलेको सुवर्णावती गाउँपालिकालाई तथ्यसहितको ऐतिहासिक नाम गाउँपालिकाले पछि जुराएको हो । माओवादी नेता किमबहादुर थापा ‘सुनिल’को नामबाट नामाकरण गरिएको यस गाउँपालिकामा उनको सालिक राखिएको छ ।

जनयुद्धका क्रममा तत्कालीन शाही सेनाको हेलिकोप्टरबाट हानेको गोली लागेर कार्यक्रममै सुनिलको सहादत भएको थियो । पर्यटन प्रवर्द्धनका लागि यस गाउँपालिकामा केही काम सुरु गरिसकेको छ भने केही बाँकी छ । यस पालिकामा खुंग्रीको दरबार, विभिन्न धार्मिकस्थलहरु, रातामाटाहरु, सयौं जनासम्म अटाउने गुफाहरु छन् । त्यस्तै, ‘मयूर संरक्षण क्षेत्र’ ‘गिद्ध संरक्षण क्षेत्र’ भनी क्षेत्रहरु छुट्याइएको छ । थप व्यवस्थितको पर्खाइमा छन्, यहाँका पर्यटकीय क्षेत्रहरु । युद्ध पर्यटनका लागि आरुखर्क–खट्के भीर, जहाँ जनयुद्धमा दोहोरो भिडन्त हुँदा राज्य पक्षबाट ६५ वटा घर जलाएर ध्वस्त पारिएको थियो ।

वडा नं. ७ मा अवस्थित अमालवानी कोट, ६ नं. वडामा अवस्थित सुनिल पार्क, वडा नं. १ मा रेड स्वायल पार्कलगायत निर्माण गरिएको छ । त्यस्तै, लुंग्री–माडी खोलामा र्याफ्टिङ्गको सञ्चालन गरिएको छ । गजुलकोट दरबारलगायत पुराना दरबारहरुको संरक्षण गर्ने काम पनि यस गाउँपालिकाले गरेको छ । पालिकाले ‘एक वडा, एक खेल मैदान’ कार्यक्रमअन्तर्गत प्रत्येक वडामा खेल मैदानहरु बनाएको छ । त्यस्तै, ‘एक घर एक धारा’ लाई पनि पालिकाले अघि बढाएको छ । गाउँपालिकाले फुसको छानो अन्त्य गरी सुरक्षित छाना प्रदान गर्ने अभियान चलाएको थियो । जुन अभियान सुरुवात गर्ने मुलुककै पहिलो पालिका हो ।

पालिकाभित्रका विपन्न, गरिब, दलितहरुको फुसको छानो विस्थापित गरी रातो रङको जस्ता पाताको छानो प्रदान गरेको थियो । जसबाट २२ सय बढी लाभान्वित भएका छन् । २०७४ सालदेखि नै पालिकाले यो अभियान सुरु गरेपछि देशका अन्य पालिकाहरुले पनि यो अभियानको सिको गरेका थियो ।

सुशासन : कम बेरुजु, उत्कृष्ट पालिका
सुनिलस्मृति गाउँपालिका २०७६/०७७ को आर्थिक वर्षमा मुलुककै पहिलो सबैभन्दा कम बेरुजु भएको गाउँपालिका बनेको थियो । ०.१४ प्रतिशत ल्याएर देशभरका ४ सय ६३ गाउँपालिकामध्ये यो पालिका पहिलो बन्न सफल भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगको तथ्यांकअनुसार ७ सय ५३ स्थानीय तहहरुको मूल्यांकन अनुसार यो पालिका ६७.६७ अंक लिएर रोल्पा जिल्लाको १० वटा स्थानीय तहमध्ये पहिलो बन्न सफल बनेको छ । ७८.६९ नम्बर प्राप्त गरेर डडेल्धुराको अजयमेरु गाउँपालिका पहिलो बनेको थियो ।

०७४ सालको प्रवेशलाई स्मरण गर्दै गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती भन्छन्, ‘हामी हिजो आउँदा अँध्यारोमा ढुंगा हाने जसरी आएका हौँ । निर्वाचित गरेर त पठाइयो । तर, त्यतिबेला हामीसँग न त प्रदेश सरकार थियो, न त संघीय सरकार थियो, न त जिविस नै थिए । स्थानीय चुनाव पहिले नै भइसकेको थियो । हामीसँग भएको भन्या त्यही पुराना केही नगरपालिकाहरु हुन् । त्यसैले, एक डेढ वर्ष अन्यौल नै भयौँ । त्यसपछि हामी आफैँले केही कार्यविधिहरु निर्माण गर्यौँ र विकासमा फड्को मारेका हौँ ।’

सुनिलस्मृति गाउँपालिकामा संघीय कानुन र प्रदेश कानुनबाहेक पाँच वर्षभित्रमा ५४ वटा कानुनहरु आफैँले निर्माण गरी कार्यान्वयन गरिएको छ । संघीय संरचना, स्थानीय तह, सरकार आफूहरुका निम्ति एउटा अवसरको रुपमा आएको बताउँदै उनले यस बीचमा आएका चुनौती पार गर्दै र सम्भावनालाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउँछन् अध्यक्ष घर्ती । यस पटक सुनिलस्मृति गाउँपालिकामा गरिएको विकास र उपलब्धिले यहाँका जनताले पुनः माओवादी केन्द्रलाई नै विजयी गराउने अध्यक्ष घर्तीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्