तनहुँ । तनहुँमा पार्टी टिकट बिक्री गरेको आरोप लगाउँदै नेपाली कांग्रेस तनहुँका नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट सात जना कांग्रेस नेता-कार्यकर्ताले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

राजीनामा दिनेमा कांग्रेस तनहुँका संगठन विभाग प्रमुख विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले रहेका छन् । उनीहरुले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पार्टीले योगदान गरेकालाई भन्दा पैसामा बिकेर टिकट दिएको आरोप लगाएका छन् ।
राजीनमा दिएका महश्वेर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास नगरपालिका–१ को वडाध्यक्षमा, थापाले व्यास नगरपालिका–२ को वडाध्यक्षमा, पौडेलले शुक्लागन्डकी नगरपालिका–३ को वडाध्यक्ष र महतले शुक्लागन्डकी नगरपालिका– ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।














