
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–३ कमलनगरमा लागेको आगो आज बिहान ७ बजे पूर्णरुपमा निभाइएको छ । प्रहरीका अनुसार आज बिहान २ बजेदेखि निभाउन सुरु गरिएको आगो चार वटा दमकलको सहयोगमा आज बिहान ७ बजेमात्र निभाउन सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए ।
भरतपुर महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको प्रहरीले जनाएको छ । नारायणगढ बजार क्षेत्रमा पर्ने घरमा आगो लागेपछि वरपरका बासिन्दा त्रसित भएका थिए ।
आगोबाट सो घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका छन् । क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । विष्णु प्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक पसल, बसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शंकर सापकोटाको जुत्ता पसल, बासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको दियालो फेन्सी पसलमा क्षति पुगेको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
सबैको प्रयासमा आज बिहान ७ बजेको समयमा आगो पूर्णरुपमा निभेको र क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी अधिकारीले बताए ।











