Logo
Logo

२६ वर्षअघि गाविस अध्यक्ष छाडेका देशबन्धु अहिले मेयरका उमेदवार


5.3k
Shares

सिन्धुपाल्चोक । २६ वर्षअघि गाविस अध्यक्षको कुर्सी छाडेर जनयुद्धमा होमिएका कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ चौतारा साँगाचोकगढी नगरपालिका प्रमुखकाे उम्मेदवार बनेका छन् ।

२०४९ सालको स्थानीय निर्वाचनमा संयुक्त जनमोर्चाबाट तत्कालीन कुविण्डे गाविसको अध्यक्षमा भारी मतले विजय भएका सापकोटा अहिले १२ गाविस मिलेर बनेको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदमा उमेदवार बनेका हुन् ।

२०१७ माघ ११ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ का सापकोटा २०५२ फागुनमा माओवादी जनयुद्धमा पूर्णकालीन सदस्यका रुपमा समाहित भए । उनी २०५५ मा सिन्धुपाल्चोक र दोलखाको जिल्ला सेक्रेटरी बने । जनयुद्धकालमा नेकपा (माओवादी)को सिन्धुपाल्चोक, दोलखा, काभ्रे र रामेछापको इञ्चार्ज भएका उनी पार्टीको उपब्यूरो इञ्चार्ज लगायतका भूमिका निर्वाह गरे ।

सानैदेखि निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध विभिन्न अभियान र राजनीतिक आन्दोलनमा सामेल भएर राजनीतिक चेतनाको राँको बालेका थिए । वि.संं २०३७ मा पार्टीको सेल सेक्रेटेरी हुँदै २०३८ मा पार्टी जिल्ला कमिटीको सदस्य भए ।

२०३८ सालमा भारतको अयोध्यामा सम्पन्न भएको अखिल नेपाल किसान संघको राष्ट्रिय सम्मेलनमा सहभागी भएपछि उनी २०४६ सालको जनआन्दोलनमा तत्कालीन राष्ट्रिय जनमोर्चाको जिल्लास्तरको नेतृत्वका हैसियतमा सहभागी भए ।

सादा जीवनशैली र सरल व्यवहार उनको जीवनको परिचय हो । सामान्य लेखपेढ गरेपनि बौद्धिक क्षमताका उनी वास्तविक श्रमिक मजदुर र किसानको रुपमा चिनिन्छन् । किसान र मजदुरका समस्या हल गर्ने उत्कृट चाहना राखेर आफू माओवादी केन्द्रको तर्फबाट नगरपालिकाको मेयरको उमेदवार बनेको उनी बताउँछन् ।

जनयुद्धकालमा सापकोटाले आफ्नी जेठी छोरी सुभद्रालाई गुमाउनुप¥यो । कक्षा ९ मा पढ्ने १४ वर्षीय सुभद्रालाई साँस्कृतिक कार्यक्रमको क्रममा काभ्रेको अनेकोटमा प्रहरीले घरमा आगो लगाउँदा उनको मृत्यु भएको थियो । कृष्णप्रसाद सापकोटाजस्ता लाखौंको त्याग र सुभद्राजस्ता हजारौंको बलिदानको जगमा आज गणतन्त्र, संघीयता र समृद्धिको अभियान सुरु भएको छ । स्थानीय तह स्वायत्त भएका छन् ।

सापकोटा हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य एवं बागमती प्रदेशको सहइञ्चार्ज छन् भने सहिद प्रतिष्ठान नेपालको अध्यक्षसमेत हुन् उनी । सापकोटा नगरपालिकामा रहेको स्रोत साधनलाई व्यवस्थित रुपमा परिचालन गर्दै नगरबासीको समृद्धिको सपनालाई साकार तुल्याउन दृढसंकल्पित देखिन्छन् ।

भ्रष्टाचारमुक्त सुशासन, पारदर्शीताको वकालत गर्दै स्थानीय क्षेत्रको विकास, समृद्धि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन, पर्यटनको क्षेत्रको विकास, जनयुद्धका स्मृतिहरुको संरक्षण र अभिलेखिकरण, सहिद, बेपत्तालगायतको सम्मान र जनताको जीवनमा अनुभूत हुनेगरी परिवर्तन गराउने उनले लक्ष्य लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्