Logo
Logo

सुर्खेतमा कांग्रेस र माओवादीको कुरा मिल्यो, संयुक्त प्रचार अभियान सुरु


2.3k
Shares

सुदूरपश्चिम । सुर्खेतमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच चुनावी तालमेल भएको छ । यसअघि सत्ता साझेदार पाँच दलबीच चुनावी तालमेल हुने भनिए पनि अन्ततः कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन बनेको हो ।

उम्मेदवार मनोनयन फिर्ता लिने दिन शुक्रबार यी दुई दलबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको हो ।

सहमतिअनुसार दुवै दलले उम्मेदवार भागबण्डा गरेसँगै आजदेखि संयुक्त प्रचार अभियानमा जुटेका छन् । मनोनयन दर्ता गर्नुअघि प्रदेशस्तरीय संयन्त्रले कर्णालीका सुर्खेत र रुकुमपश्चिमबाहेकका आठ जिल्लामा गठबन्धनमा आवद्ध दलबीच चुनावी तालमेलका लागि पालिका भागबण्डामा सहमति गरेको तर यी जिल्लाको हकमा प्रदेश संयन्त्रले पालिका भागबण्डा गर्न केन्द्रीय नेतृत्वलाई जिम्मेवारी दिएको थियो । सहमतिमा ढिलाइ हुँदा सुर्खेतमा सत्ता साझेदार दलहरूले अलग–अलग उम्मेदवारी दर्ता गरेका थिए ।

दुई दलबीच भएको सहमतिअनुसार कांग्रेसले वीरेन्द्रनगर, भेरीगङ्गा नगरपालिकाको उपप्रमुख, चौकुने गाउँपालिकाको अध्यक्ष, सिम्ता र बराहताल गाउँपालिकाको उपाध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।

ती पदमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगङ्गा, गुर्भाकोट, पञ्चपुरी, लेकबेँसी नगरप्रमुख तथा चिंगाड, सिम्ता र बराहताल गाउँपालिका अध्यक्ष पदमा दिएको उम्मेदवारी फिर्ता लिने सहमति भए पनि बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिकामा भने फिर्ता लिएको छैन ।

माओवादी केन्द्रले चौकुने गाउँपालिका उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ । यी दुई दलबीच प्रमुख–उपप्रमुख पदमा भागबण्डा मिले पनि वडा तहमा भने सहमति कायम हुन सकेन । सुर्खेतका ९९ वटै वडामा सबै दल अलग–अलग प्रतिस्पर्धा गर्दैछन् ।

कांग्रेसले जिल्ला सचिव देवकुमार सुवेदीका अनुसार केन्द्र तथा प्रदेशको निर्देशनानुसार तालमेल गरेर जाने सैद्धान्तिक सहमतिअनुसार शुक्रबार दुवै दलका उम्मेदवारले मनोनयन फिर्ता लिएको बताए ।

‘सहमतिअनुसार उम्मेदवारी फिर्ता लिने काम दुवै पार्टीबाट भएको छ, सहमतिलाई अब व्यवहारिक पालना गर्न बाँकी छ’, उनले भने, ‘वीरेन्द्रनगरमा संयुक्त चुनावी अभियान सुरु भइसकेको छ, अन्यत्र पनि हुँदै होला ।’

सहमतिअनुसार अब वीरेन्द्रनगरमा कांग्रेस–माओवादी केन्द्रका संयुक्त उम्मेदवार नगरप्रमुखमा उपेन्द्र खड्का र उपप्रमुखमा शान्ति ढकाल भएका छन् । प्रमुखमा कांग्रेसलाई सघाउन माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रदेव गिरी र उपप्रमुखमा माओवादी केन्द्रका शान्ति ढकाललाई सघाउन कांगे्रसका उपप्रमुखका उम्मेदवार रामकुमारी थापाले मनोनयन फिर्ता दिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले वीरेन्द्रनगर नगरपालिकामा २५ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आचार्यका अनुसार नगरप्रमुखमा माओवादी केन्द्रका राजेन्द्रदेव गिरी, स्वतन्त्रतर्फबाट चिन्तामणि शर्मा पौडेल, सिद्धबहादुर खड्का र फष्टबहादुर हमालले उम्मेदवारी फिर्ता लिएका छन् ।

उपप्रमुखमा कांग्रेसका रामकुमारी थापा र स्वतन्त्रका दीपेन्द्र ढकालले उम्मेदवारी मनोनयन फिर्ता लिएका छन् । प्रदेश राजधानी रहेको वीरेन्द्रनगरमा ६७ हजार ५७ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्