काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न अपिल गरेको छ ।
महासचिव विप्लवले आइतबार एक अपिल जारी गर्दै देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेका हुन् । स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने पार्टीको नीति रहेको बताउँदै उनले स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न अपिल गरेका छन् ।

‘हाम्रो जनप्रिय एवं गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले हालै हुन गैरहेको स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको छ’ अपिलमा भनिएको छ, ‘यही नीतिअनुसार २०७९ वैशाख ३० गते हुने चुनावमा पुतली चुनाव चिन्ह लिएर उम्मेदवार हुनुभएका साथै अन्य कयौं स्थानमा अन्य चिन्ह जस्तो कि लठ्ठी, हाँस, धरहरा आदि लिएर उठेका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग र समर्थन गर्ने नीति लिएको जानकारी गराउँदछौं ।’











