काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरमा मेयरको उम्मेदवार बनेका केशव स्थापितले आफू मेयर भइसकेको जस्तो अनुभूत भइरहेको बताएका छन् ।
नेकपा एमालेले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्थापितले अनुभव, भिजन र जनआधारका आधारमा आफू मेयर भइसकेको जस्तो अनुभूत भइरहेको बताएका हुन् ।

मेयरको रुपमा जनताको सेवा गर्न आतुर रहेको बताउँदै स्थापितले जनताको पक्षमा हस्ताक्षर गर्न गोजीमा तीव वटा कमल बोकेर हिँडेको समेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले भने– ‘अनुभव, भिजन र जनआधारका आधारमा म मेयर भइसके जस्तो लागिरहेको छ । जनताको पक्षमा हस्ताक्षर गर्ने हो । मेरो गोजीमा तीन वटा कलम छ । झ्याप कि झ्याप सिग्नेचर गर्ने हो । मजदुरको पक्षमा काम गर्ने हो ।’
उम्मेदवार स्थापितले काठमाडौं महानगरलाई बनाउने भिजन आफूसँग मात्र रहेको दावी गर्दै आफ्ना प्रतिस्पर्धीहरु कमजोर रहेको समेत दावी गरेका छन् । उनले भने– ‘मेरा प्रतिस्पर्धीहरु कमजोरहरु छन् । उनीहरुसँग भिजन छैन । भिजन नभएकाहरुले जित्ने कुरा हुँदैन । त्यसैले मेरो जित सुनिश्चित छ ।’
पछिल्लो समय एक कार्यक्रममा यौनसँग जोडिएको विषयमा एक महिलाले गरेको प्रश्नको उत्तर दिने क्रममा अभद्र शैलीमा प्रस्तुत भएका स्थापित आइतबार भने निक्कै सभ्य शैलीमा प्रस्तुत भएका थिए ।











