खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले बिहीवार पार्टीले बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गरे ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)को केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राईले चुनावी गठबन्धनमा आबद्ध चार राजनीतिक दलले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरस्वती बजिमयले कांग्रेसले हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा आयोजना गरेको चुनावी सभालाई बिहीवार नै सम्बोधन गरेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेता गाउँ केन्द्रीत भएका छन् ।
सरकारले देशभर एकसाथ सम्पन्न गर्न लागेको स्थानीय तहको निर्वाचन नजिकिएसँगै आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन केन्द्रीय नेताहरु गाउँ पसेपछि स्थानीय नेता तथा कार्यकर्ता तानातानमासमेत परेको पाइएको छ ।
एउटा गाउँमा एउटा पार्टीले आयोजना गरेको चुनावी सभामा आफ्नो पार्टीका कार्यकर्ता प्रवेश गराएको थाहा पाउनासाथ अर्को गाउँका कार्यकर्तालाई अर्को पार्टीले प्रवेश गराउने होडबाजी नै चलिरहेको छ । एउटै व्यक्ति फरक–फरक तीन पार्टीमासमेत प्रवेश गराएको पाइएको छ ।
जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कांग्रेससहित चार र चार स्थानीय तहमा कांग्रेसबाहेक माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ । जिल्लाका सबै स्थानीय तहमा सत्ता गठबन्धनमा आबद्ध चारवटै राजनीतिक दलहरुले चुनावी तालमेल गर्ने भनिए पनि भागबण्डा नमिल्दा छ पालिकामा पूर्ण र चारवटामा आंशिक तालमेल भएको हो ।
जिल्लामा चार दलबीच चुनावी गठबन्धन भएपछि अधिकांश स्थानीय तहमा गठबन्धनको जीत सुनिश्चित भएको नेताहरूले दाबी गर्दै आएका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएपछि एमाले गठबन्धनमा असन्तुष्ट व्यक्ति खोजी गरेर रिझाउने कसरत गरिरहेको पाइएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा एमालेले सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित ७९ वटै वडामा एक्लै प्रतिस्पर्धा गर्दैछ । चार दलबीच चुनावी तालमेल भएपछि एमालेले गठबन्धनमा असन्तुष्ट बनेका व्यक्तिलाई आफ्नो पार्टीमा ल्याएर चुनाव जित्ने रणनीति बनाएर अगाडि बढेको देखिन्छ ।
अघिल्लो निर्वाचनमा एक्लै पाँच स्थानीय तह जितेको एमालेले यस वर्ष अधिकांश पुरानै अनुहारलाई अगाडि सारेको छ । यस वर्षको निर्वाचनमा गत वर्षभन्दा बढी स्थानीय तहमा आफूहरूको जित हुने जिल्ला इञ्चार्जसमेत रहेका पार्टीका प्रमुख सचेतक भट्टराईले दाबी गरे ।
उता प्रदेश नं. १ सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज रामकुमार राई (पासाङ)ले जिल्लाका सबै स्थानीय तहमा गठबन्धनको जीत हुने दाबी गरे । जनताको चाहना देशमा ‘स्थिर सरकार’ भएकाले गठबन्धनको पक्षमा जनलहर बढेको बताए ।
जिल्लामा ११ प्रमुख–उपप्रमुख पुनः दोहोरिन उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका निर्वाचित प्रमुख–उपप्रमुखमध्ये चार प्रमुख र सात उपप्रमुख अर्को कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपप्रमुखमा निर्वाचित विणादेवी राईले पुनः सोही पदमा उम्मेदवारी दिएकी छन् । हलेसी तुवाचुङ नगरमा कांंग्रेसबाट उपप्रमुखमा निर्वाचित विमला राई यसपल्ट प्रमुख बन्ने दौडमा छिन् ।
यस्तै केपिलासगढी गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्वाचित कृष्णकुमार राई र ऐंसेलुखर्क गाउँपालिकामा एमालेबाट उपाध्यक्ष निर्वाचित पुष्पकला भुजेलले सोही पदमा उम्मेदवारी दिएका छन् भने खोटेहाङ गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा चुनिएकी कविता राई यसपल्ट गाउँपालिका अध्यक्ष बन्न चुनावी मैदानमा उत्रिएकी छन् ।
जन्तेढुंगा गाउँपालिकामा एमालेबाट अध्यक्षमा निर्वाचित शंकरबहादुर राई र उपाध्यक्षमा निर्वाचित विमला राईले पुनः उम्मेदवारी दिएका छन् । बराहपोखरी गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा निर्वाचित शालिकराम बञ्जरा सोही पद तथा एमालेबाट उपाध्यक्षमा निर्वाचित गोमा मगरले अध्यक्ष, साकेला गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित अर्जुन खड्का र कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित सरिता खड्काले सोही पदमा उम्मेदवारी दिएका छन् ।
यसअघि नेतृत्व सम्हालेका केही नेताहरु यस वर्ष चुनावी मैदानबाट बाहिरिएपछि असन्तुष्ट बनेका देखिन्छन् भने केही नेताले आफ्नो पार्टीका उम्मेदवारलाई सहयोग गरिरहेका छन् ।
केन्द्रीय नेता चुनावी मैदानमा
जनता समाजवादी पार्टी नेपालका पोलिटब्यूरो सदस्य सनबहादुर राई र जिल्ला अध्यक्ष टंक थापा आफैँ चुनावी मैदानमा छन् । राई र थापा आ–आफ्नो स्थानीय तहमा पार्टीबाट खुला सदस्यको उम्मेदवार बनेका हुन् ।
राईले साकेला गाउँपालिका–२ रतन्छाबाट खुला र थापाले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँबाट खुला सदस्यमा उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख जसपालाई परेपछि राई र थापालाई निर्वाचित गराउन गठबन्धनमा आबद्ध दलले सहयोग गर्ने सहमति भएको जनाइएको छ ।














