Logo
Logo

अपमानित र अपहेलित भएपछि राप्रपा त्यागेँ : मधु अधिकारी


शिव चौलागाइँ

14k
Shares

मकवानपुर । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका पूराना नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । शुक्रबार विज्ञप्ती जारी गर्दै पार्टी स्थापनाकालदेखि ३२ वर्ष राप्रपामा लागिपरेका अधिकारीले पार्टीमा अपमानित र अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका उल्लेख गरेका छन् ।

राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, पार्टी बागमती प्रदेशको उपाध्यक्षको भूमिकामा रहेका नेता अधिकारीले मकवानपुर जिल्ला सभापतिको भूमिका निर्वाह गरेका थिए ।

निर्वाचित वडाअध्यक्षदेखि हेटौंडा नगरपालिकाको मेयरसम्म भइ आफ्नो दायित्व निर्वाह गरेका अधिकारी पछिल्लो समय राप्रपालाई एकताबद्घ बनाउने अभियानमा सक्रिय थिए ।

राप्रपालाई मुलुकको राष्ट्रिय राजनीतिमा स्थापित गर्न तल्लो तहमा बसेर अनवरत अधिकारीले पार्टीका लागि क्षमताअनुसार आर्थिक लगानीसमेत गर्दै सिद्धान्तलाई केन्द्रमा राखेर अघि बढ्दा पनि पार्टीमा आफ्नो मूल्याङ्कन नभएको गुनासो गरेका छन् ।

नेता अधिकारीले कठिन, असहज र चुनौतीपूर्ण अवस्थामा पनि पार्टीलाई स्थापित गर्न लागिपरेको भन्दै विज्ञप्तिमा भनेका छन्, ‘पार्टीमा विभिन्न उतारचढाव आयो, संघर्ष र कठिन दिनहरू पार गरेँ । यो बीचमा पार्टी शून्य अवस्थामा पुग्यो । यस्तो कठिन, असहज र चुनौतीपूर्ण अवस्थामा पनि पार्टीलाई स्थापित गर्न सकिन्छ कि भन्ने आत्मविश्वासका साथ अघि बढेँ । पार्टीलाई सकेको योगदान दिने कुरामा जहिल्यै अग्रसर भइरहेँ । पार्टीलाई विधि र प्रद्धतिमा अगाडि बढाउन प्रयास गरिरहे । वास्तवमा मेरो तीनदशक लामो राजनीतिक यात्रामा मैले कमाएको सम्पत्ति भनेको इमान्दारिता, नैतिकता र जनताको स्नेह नै हो ।’

उनले आफ्नो राजनीतिक जीवनभर निष्ठाको राजनीति गरेर कुनै लाभको पदमा बसेर फाइदा नलिएको बताउँदै भनेका छन्, ‘पार्टीभित्र काम गर्ने कालू, मकै खाने भालुु’ प्रवृत्ति मौलाएकाले पार्टीबाट अलग हुनु परेको हो ।’

पछिल्लो समय अनुकुलताको राजनीति, सामन्ती र सर्बसत्तावादी चिन्तन अनि प्रवृत्ति हाबी भएको र त्यही प्रवृत्तिसँग केन्द्रीय नेतृत्व नतमस्तक भएको भन्दै अधिकारीले नयाँ पुस्ताको भजन गाएर नथाक्ने पार्टीका नेतृत्व र शीर्ष नेताको निर्णय अदूरदर्शी, अपरिपक्व र अन्यायपूर्ण देखिएको निष्कर्ष निकालेका छन् ।

‘नेतृत्वले गर्ने मूल्य, मान्यता र आदर्शको कुरा ढोँग सिवाय केही होइन भन्ने घटनाक्रमले चरितार्थ गर्यो । कुनै कार्यकर्ताको मेहनत र लगनको मूल्याँकन त परै जाओस्, उल्टै हुर्मत लिने र तेजोबध गर्ने काममा नेतृत्व तह हतियारका रुपमा प्रयोग भयो । कसले दुःख गरेको छ, कसले मेहनत गरेको छ, हेक्का राख्न नसक्ने लाचार, निरीह नेतृत्वसँग बसेर एउटा स्वाभिमानी व्यक्तिले कसरी काम गर्न सक्छ ?’ नेता अधिकारीको प्रश्न छ ।

राप्रपाभित्र योगदान दिने व्यक्तिको मूल्यांकन नहुने बताउँदै सधैँ कठिन घडीमा पार्टीलाई थाम्ने काम गरेको तर सहज र अनुकूल वातावरणमा एउटै व्यक्तिले मात्र अवसर पाउने प्रवृत्ति पार्टीमा हावी भएको अधिकारीले बताएका छन् ।

उनले भनेका छन्, ‘अराजक र अवसरवादीहरूले भोलि पार्टीलाई नै आफनो स्वार्थपूर्तिका लागि जे पनि गर्न सक्ने सम्भावना टड्कारो छ । पार्टी नेतृत्व पनि त्यसमा संलग्न भएको देखिन्छ । यसले एउटा स्वाभिमानी राजनीतिक व्यक्तिको निष्ठा र आत्मसम्मान माथि गम्भीर प्रश्न उठाएको छ । अपमानित, अपहेलित भएर स्वाभिमानमाथि प्रश्न उठिसकेको अवस्थामा पनि अन्यायविरुद्ध बिद्रोह नगरी निरीह भई त्यसकै साक्षी बस्न यो आत्माले स्वीकृत दिएन । अन्यायविरुद्ध सतिसाल बनेर खडा हुने निष्कर्षमा पुगेको छु ।’

गलत प्रवृत्तिसँग कुनै मूल्यमा सम्झौता नगर्ने बताउँदै उनले अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्