Logo
Logo
कला

‘कलाकार नभएको भए बैंकको जागिरे हुन्थेँ’



भोजपुरी गीतका लागि चर्चित मोडल हुन् समिता गिरि । तर, उनीसँग न लक्ष्य छ, न त उद्देश्य । डान्स गर्दागर्दै एक भोजपुरी गीतमा आइटम डान्स गरेपछि चर्चामा आएकी धरान-१८ की समिता भन्छिन्- ‘यो क्षेत्रमा सोचविनै आएकी हुँ । भविष्यमा पनि यही गर्छु वा बन्छु भन्ने उद्देश्य लिएकी छैन ।’ तीन दर्जनभन्दा बढी भोजपुरी, मैथिली र थारु गीतमा मोडलिङ गरिसकेकी समिताले ‘धनवान’, ‘मन त प्रदेशी’, ‘उफ् यो मन’, ‘निम्तो’लगायतका नेपाली फिल्ममा अभिनय गरेकी छन् । एउटै गीतमा आइटम गरेपछि देश-विदेशमा कार्यक्रम गर्न भ्याएकी समिता आफूलाई आफूलाई भाग्यमानी ठान्छ्न्। मेनेजमेन्टकी विद्यार्थीसमेत रहेकी मोडल तथा अभिनेत्री समिता गिरिसँग एमपी सुब्बाको जम्काभेट :

ग्ल्यामरस क्षेत्रमा प्रवेश कहाँबाट सुरु भयो ?
म डान्सबाट मोडलिङमा आएकी हुँ । २०६४ सालतिर म धरानको गरिमा डान्स सेन्टरमा डान्स गर्थे । त्यतिखेर एउटा भोजपुरी गीतमा आइटम डान्सको अफर आयो । त्यो आइटम डान्स चर्चित बन्यो । त्यसपछि अरु गीतको भिडियोहरुमा अफर आउन थालेपछि मेरो मोडलिङ यात्रा सुरु भएको हो । त्यसअघिचाहिँ स्टाप नर्स बनेर विमारीको सेवा गर्छु भन्ने सोचेकी थिएँ किनकि मेरो मम्मी अस्पतालमा काम गर्नुहुन्थ्यो । तर, त्यो उद्देश्य थिएन ।

आइटम नम्बरबाटै सुरुवात हो ?
हो, तर आइटम नम्बर भएपनि त्यो भल्गर थिएन । सबै आइटम डान्स भल्गर हुँदैन । त्यो बेला मैले गरेको आइटम डान्स ग्ल्यामरस थियो । जुन आइटम नम्बर यति धेरै हिट भयो कि त्यही भिडियोबाट मलेसियाका लागि कार्यक्रमको समेत अफर आयो ।

नेपालीभन्दा भोजपुरीमै कसरी व्यस्त हुनुभयो ?

मेरो सुरुवात नै भोजपुरीबाट भएकाले होला । मेरो पहिलो भोजपुरी गीत हिट भएपछि मैथिली र थारु गीतको भिडियोमा अफर आउन थाल्यो । त्यसपछि मेरो व्यस्तता तराईमै हुन थाल्यो । त्यसपछि तराईमै बढी चिनिन थालेँ । भोजपुरी गीतको मोडलमा त म एक नम्बरमै पर्छु ।

नेपाली फिल्म र गीतहरुमा अफर आएको छैन ?
नेपाली गीतको भिडियो र फिल्ममा पनि काम गर्दै आएकी छु । अहिलेसम्म पाँच वटा नेपाली फिल्ममा काम गरेकी छु भने केही नेपाली गीतको भिडियोमा पनि मोडलिङ गरेकी छु । तर, मैले बढी गर्ने भनेको भोजपुरी र मैथिली नै हो ।

कुन कुन नेपाली फिल्ममा काम गर्नुभयो ?
धनवान, मन त प्रदेशी, उफ् यो मन, निम्तोलगायतमा काम गरेकी छु । मैले काम गरेको तीन वटा फिल्म रिजिज हुनै बाँकी छ । हालै गरेको चाहिँ ‘जंगल’ हो । जुन समुदाय वनसम्बन्धी बनेको डकुमेन्टी हो । मैले बंगलादेशको प्रोजेक्टमा पनि काम गरेकी छु ।
भाषाभाषी र नेपाली फिल्ममा काम गर्दा के फरक पाउनुभयो ?
खाशै फरक हुन्न । भाषा मात्र फरक, काम गर्ने तरिका एउटै हो । मलाई भोजपुरी भाषा बोल्नचाहिँ आउँदैन तर सबै बुझ्छु । त्यसैले मलाई काम गर्न सजिलै छ ।

नेपाली फिल्मका काम गर्न तपाइँको कुनै सर्त छ ?
त्यस्तो सर्त छैन । बिग ब्यानर र चलेका कलाकारसँग काम गर्दा मात्र हिट भइने होइन । कथावस्तुमा चित्त बुझ्यो भने जस्तोसुकै ब्यानरमा पनि काम गर्न तयार छु । कलाकार भइसकेपछि आफ्नो कला देखाउने हो, जुन स्टोरीमा भरपर्छ ।

भोजपुरी र थारु भाषाका फिल्ममा काम गर्नुभएको छ कि छैन ?
एउटा फिल्ममा निखिल उप्रेतीसँग काम गरेकी छु । थारु भाषाको फिल्मका काम गर्ने अवसरचाहिँ जुरेको छैन ।

नेपाली फिल्ममा आइटमका लागि अफर आयो भने गर्नुहुन्छ ?
अवश्य, किनकि मेरो वेश नै डान्स हो । डान्स गरेरै यो क्षेत्रमा आएकी हुँ । त्यतिमात्र नभएर आइटम नम्बरबाटै मेरो कला यात्रा सुरु भएको हो । त्यसैले आइटम नम्बर मेरो पहिलो प्राथमिकतामा पर्छ ।

तपाइँ लक्ष्य के हो ?
यही बन्छु भन्ने लक्ष्य बनाएकी छैन । यो क्षेत्रमा आउँदा पनि उद्देश्य र सोचविनै आएकी हुँ । रिलिज हुन बाँकी मेरा तीन वटा फिल्म छन् । ती फिल्म रिलिज भएपछि केही होला । पर्खाइमा छु ।

ग्ल्यामरस क्षेत्र नरोजेको भए के गर्नुहुन्थ्यो होला ?
बैकिङ क्षेत्रमा जागिरे हुन्थे कि, किनकि मलाई सानैदेखि म हिसाव–किताव गर्न रुचाउँथे । त्यसैले एसएलसीदेखि नै मेनेजमेन्ट विषय लिएकी हुँ । मेनेजमेन्टबाटै ब्याचुलर गर्दैछु ।

आफूले रोजेको पेसाबाट खुसी हुनुहुन्छ ?
खुसी छु । आफूले जुन क्षेत्र रोज्यो, त्यसमा खुसी हुनुपर्छ । स्टाप नर्स वा बैंकको जागिरे भएको भए उतै खुसी हुन्थेँ होला । कलाकार भएकी छु । यसमा खुसी नै छु ।

केटा साथीहरु कतिको बनाउनुभएको छ ?
थुप्रै छन् । तर, जति केटा साथीहरु छन्, उहाँहरु सबै स्कुल र कलेजका साथीहरु हुन् । स्पेशल साथी बनाएको छैन ।

प्रेम प्रस्ताव गर्नेहरुलाई के भन्नुहुन्छ ?
माया गर्छु भन्नेहरुलाई आफ्नै काममा व्यस्त छु भन्ने गरेकी छु । म माथि जिम्मेवारी पनि छ । यहाँ भाइबहिनीहरुलाई पढाइरहेकी छु । अर्को कुरा, भाग्यमा नभए माया भएर पनि नहुने रहेछ । त्यो अनुभव मसँग छ ।

प्रतिक्रिया दिनुहोस्