काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान अनुसार गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन् । शनिबार सत्ता गठबन्धनको बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘अहिलेको संविधानले एउटै पार्टीले सरकार बनाउने सक्ने अवस्था छैन । गठबन्धन आवश्यक छ । गठबन्धन बनाउनु अनिवार्य छ । विनागठबन्धन कसैको सरकार चल्दैन । अहिलेको संविधान अनुसार गठबन्धन राष्ट्रिय आवश्यकता हो । राष्ट्रले मागेको कुरा हो । यसलाई वर्षौंसम्म अगाडि लैजानुपर्छ ।’
प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै ठूलो अत्याचार भएपछि गठबन्धन बनेको बताए। विरोध सहन नसकेर ओलीले पटकपटक संसद् भंग गरेको पनि उनको भनाइ छ । ‘जनताले पाँच वर्षका लागि चुनेको संसद्लाई भंग गरिदिने । अहिलेको नेपालको जुन संविधान छ । यसमा प्रधानमन्त्रीले जथाभावी भंग गर्न पाउँदैन । तर ओलीजीले भंग गरिदिनुभयो। फेरि अदालतले न्याय गरेर पार्लियामेन्ट फिर्ता गरिदियो। तर चल्न दिनुभएको छैन,’ उनले भने।














