
ललितपुर । महालक्ष्मी नगरपालिकाका मेयर उम्मेदवार शिवप्रसाद कट्टेलसहित गठबन्धनका टोलीले निर्वाचन प्रचार प्रसारलाई तीव्रता दिएको छ ।
निर्वाचन नजिकिँदै गर्दा मेयर, उपमेयर, वडाध्यक्षसहितको टोली घरदैलो कार्यक्रममा व्यस्त छ । घरदैलोे कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ ।
नगरपालिकाको नयाँ नेतृत्वमा कट्टेललाई अघि सार्न स्थानीयवासी प्रचारप्रसारमा सहभागी हुँदै उनको पक्षमा भोट मागिरहेका छन् । उनीहरु पनि उत्साहित देखिएका छन् । घरदैलो कार्यक्रममा गठबन्धनमा रहेको नेपाली कांग्रेसले पनि कट्टेलको पक्षमा भोट मागिरहेको छ ।
महालक्ष्मी नगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेल मेयरका प्रत्यासी छन् । त्यसैगरी उपमेयरमा कांग्रेसबाट लक्ष्मी महर्जनलाई उम्मेदवार हुन् ।
तीन दशकदेखि महालक्ष्मी क्षेत्रमा सामाजिक कार्यसँगै माओवादी केन्द्रको राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका कट्टेल अहिले सोहि क्षेत्रमा मेयर बन्ने दौडमा छन् । उनी विहान सवेरैदेखि राती अबेरसम्म स्थानीयको घरदैलोमा पुग्ने गरेका छन् ।
गठबन्धनको टोलीले शुक्रबार महालक्ष्मी–१, इमाडोल, लुभू, सिद्धिपुर क्षेत्रका स्थानीयको घरदैलोमा पुगेका थिए । उनीहरुले पालिकाको नेतृत्व आफूहरुले गर्न सके ‘एक घर एक धारा’को व्यवस्था गर्ने पनि स्थानीयसामु प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार गरिएको घरदैलो कार्यक्रममा करिब ५ सय स्थानीय र पार्टीका नेता कार्यकताको सहभागी रहेको छ । दिनभरीनै प्रचारप्रसार र घरदैलो कार्यक्रममालाई तीब्रता दिने मेयरका उम्मेदवार कट्टेलले बताए ।
उनले भने, ‘अरु बेला पनि सकेसम्म स्थानीयको घरघरमा पुगेको हो, तर चुनावको बेला अघि धेरै पुग्नुपर्छ,’ उनले भने, ‘घरदैलोमा स्थानीयवासीको निकै उत्साह छ, त्यसैले म खुशी छु ।’ उनले आफूले चुनाव जिते प्रतिवद्धता जनाएका सबै कामहरु पाँच वर्षमा गरिसक्ने बताए ।
महालक्ष्मी नगरपालिकामा सत्ता गठबन्धन भएपनि नेकपा (एकिकृत समाजवादी) ले छुट्टै उम्मेदवार अघि सारेको छ । यहाँ माओवादी केन्द्रलाई कांग्रेसको साथ छ । त्यस्तै एमालेबाट हरिगोविन्द श्रेष्ठ मेयरका उम्मेदवार छन् ।
यसअघि एमालले जितेको उक्त नगरपालिकामा यसपटक भने गठबन्धनका आधारमा माओवादी केन्द्रले जित्न सक्ने अनुमान गरिन्छ ।














