Logo
Logo

पोखरा महानगर भ्रष्टाचारको दलदलमा फसेको छ : उपमेयरका उम्मेदवार


756
Shares

पोखरा । पाँचदलिय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदका उमेदवार कोपिला रानाभाटले महानगर भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् ।

पोखरा २१ कृस्तीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले महागरलाई भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउन गठबन्धनको जित आवश्यक रहेको बताए ।

वैशाख ३० गते पोखराको भविष्यको फैसला गर्ने दिन भएकाले त्यसको महत्वलाई बुझि गठबन्धनका उमेदवारहरुलाई मतदान गर्न अपिलसमेत गरे ।

पोखरा महानगरपालिकाको विकासको मोडेल कस्तो बनाउने र सेवालाई कसरी नागरिकमैत्री बनाउने भन्ने ठोष योजना आफुहरुसँग रहेको बताउँदै उमेदवार रानाभाटले सहजसेवा प्रवाहका सम्बन्धमा आफुहरु सचेत रहेको पनि बताए । महानगरभित्र रहेका डाडाँहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर पर्यटन उद्योगलाई थप व्यवस्थित गर्ने रानाभाटले प्रतिवद्धता जनाए ।

उनले पोखरामा क्रियाशिल आमा समूहहरुका लागि बिना धितो, बिना ब्याज १० लाखसम्म आर्थिक सहायता प्रदान गर्ने घोषणा समेत गरेका छन् । महानगरमा निशुल्क शिक्षा, शुद्ध खानेपानी र गुणस्तरीय स्वास्थ्यको समेत व्यवस्थापन गर्ने उनले बताए ।

यस्तै वडा अध्यक्ष पदका उम्मेदवार पूर्ण बहादुर थापाले आर्थिक पारदर्शीता र कुशल प्रशासन संचालनका लागि आफ्ु योग्य रहेको बताए । वडाको विकासका सवालमा वडावासीहरुसंग आवश्यक परामर्श गरेर निर्णय लिने उनले प्रतिवद्धता पनि जाहेर गरे ।

सदस्य पदका उमेदवार लालबहादुर ठकुरीले कृस्तीले परिवर्तन खोजेका कारण गठबन्धनका उम्मेदवारलाई विश्वास गरेर मत दिने अपेक्षा लिएको बताए । अर्का सदस्य पदका उम्मेदवार नारायणबहादुर केसीले ३२ वर्ष देखी एमालेको कार्यकर्ता भएर काम गर्दा झुट र ठट्टा बाहेक केही नदेखेको बताए ।

महिला वडा सदस्य पदकी उमेदवार देवी अधिकारीले राम्रा व्यक्ति छान्न नसके पाँच वर्ष पछुताउनुको विकल्प नहुने धारणा राखे । दलित महिला वडा सदस्य पदकी उम्मेदवार मञ्जु विकले दलित समुदायको नेतृत्व विकास गराई आयआर्जन र उद्यमशीलता बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्