Logo
Logo

दाङका ३६५ जना युवा माओवादी प्रवेश



दाङ । दाङको घोराही उपमहानगरपालिकामा विभिन्न क्षेत्रमा कृयाशिल ३ सय ६५ जना युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेश रेग्मी र समाजसेवी युवा गिर रोदन महाराको विशेष पहल र समन्वयमा ति युवा माओवादी प्रवेश गरेका हुन् ।

पार्टीमा विगतमा काम गरेका तर पछिल्लो समय स्वतन्त्र भूमिकामा रहँदै आएका समाजसेवी डा. गिर रोदन महरा सहितका युवा पार्टी प्रवेश गरेका हुन् । दाङका चर्चित कलाकार हिमालयन रोडिजको टप फाइभमा पर्न सफल युवा रामचन्द्र केसी पनि माओवादीमा प्रवेश गरेका छन् ।

पार्टीमा प्रवेश गर्नेहरुलाई नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् पूर्वसभामुख कृष्णबहादुर महराले माला र अबिर लगाएर स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका महराले राजनीतिमा युवाको प्रवेश निकै सकारात्मक भएको बताए । माओवादीले नै युवालाई पार्टीमा स्थान दिने गरेको बताउँदै प्रवक्ता महराले युवाले नै राजनीतिलाई सुधार गर्न सक्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री रेखा शर्माले मुलुकको परिवर्तनका लागि माओवादीको योगदान महत्वपूर्ण भएकाले समृद्धिको नेतृत्व पनि माओवादीले गर्ने बताए ।

कार्यक्रममा गठबन्धनको तर्फबाट मेयर पदका साझा उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’ले गठबन्धनले विजयी हासिल गरेपछि युवा तथा खेलकुदको क्षेत्रमा बृहत् योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपमेयर पदका साझा उम्मेदवार भूपबहादुर डाँगीले गठबन्धन दलका सबै कार्यकर्ता तथा आम जनताले गठबन्धनको मर्मअनुसार मतदान गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्