काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज कास्कीको पोखरा जाँदै छन् ।
पाँच दलीय गठबन्धनले आयोजना गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्न उनी बिहान १० बजे पोखरा जान लागेका हुन् । यसअघि हिजो प्रचण्डले मधेश प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
त्यस क्रममा उनले मधेशी जनताले डेढ दशकदेखि उठाउँदै आएकोे नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने बताएका थिए । संविधान संशोधन गरेर मधेशी जनताका जायज मागहरूलाई सम्बोधन गर्ने तर, स्थानीय तह निर्वाचनमा मत भने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई दिएर विजयी गराउन प्रचण्डले आह्वान गरेका थिए ।
प्रचण्ड गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन भन्दै देशका ठाउँ–ठाउँमा गठबन्धन दलहरूले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका छन् ।














