Logo
Logo

बुटवलका ई-रिक्सा चालक गठबन्धनको पक्षमा


दामोदर खनाल

1.2k
Shares

बुटवल । स्थानीय तहको निर्वाचन नजिकिएको छ । उम्मेदवारहरुले घरदैलो, भेटघाट, चुनावी सभालगायत कार्यक्रमलाई तीव्रता दिँदै आएका छन् । यसैक्रममा बुटवलका अटो तथा विद्युतीय रिक्सा चालकहरुले गठबन्धनको पक्षमा रहेको बताएका छन् ।

पाँच वर्षको अवधिमा विद्युतीय रिक्सा चालकको पक्षमा स्थानीय सरकारले व्यवस्थापन गर्न चासो देखाउनुको साटो विवादित काम गरेको भन्दै अहिलेको निर्वाचनमा आफूहरु गठबन्धनको पक्षमा रहेको उनीहरुले बताएका छन् ।

गठबन्धनको पक्षमा रहेको भन्दै शनिवार बुटवलमा विद्युतीय रिक्सा चालकहरुले प्रर्दशन समेत गरेका थिए । बुटवलमा २०७१ सालदेखि विद्युतीय रिक्सा भित्रिन सुरु गरेको हो । तर, व्यवस्थति भने हुन सकेको छैन । जसका कारण विभिन्न समस्या देखापरेको छ ।

२०७२ को नाकाबन्दीको समयमा विद्युतीय रिक्साले बुटवलमा महत्वपूर्ण भूमिका खेले पनि स्थानीय सरकार आएपछि व्यवस्थापन भन्दा पनि चालकबीच विवाद सृजना गर्ने काम गरेको नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ बुटवलले जनाएको छ ।

साधारण रिक्सालाई विस्थापित गर्दै बुटवलमा विद्युतीय रिक्साको संख्या बढ्दै गए पनि व्यवस्थापन हुन नसक्दा ट्राफिक चुनौती पनि थपिँदै गएको छ । तत्कालीन अवस्थामा राजनीतिक दलहरुको सहमतिमा बुटवल उपमहानगरपालिकामा १ हजार १८ ई–रिक्सा दर्ता गरेर सञ्चालन गर्ने अनुमति दिने निर्णय गरिएको थियो ।

तर, स्थानीय सरकार आएपछि ई–रिक्सा व्यवस्थापन गर्न नसकेको नेपाल अटो टेम्पु तथा ई–रिक्सा चालक संघ रुपन्देहीका अध्यक्ष लालमणि भण्डारीको आरोप छ । उपमहानगपालिकामा दर्ता गरिएको ई–रिक्सामा पनि पार्टी निकटलाई मात्र प्राथमिकता दिइएको उनले बताए ।

ई–रिक्सा व्यवसायी करको दोहोरो मारमा परेको भण्डारीले सुनाए । “यातायात व्यवस्था कार्यालय र उपमहानगरपालिकाको कार्यालयलाई कर तिर्नुपरेको छ” उनी भन्छन्– “युवालाई स्वदेशमै स्वरोजगार बन पनि भन्ने अनि व्यवसायी विस्थापित हुने काम नगर सरकारबाटै भएको छ । दिनभरि ई–रिक्सा चलाएर रोजीरोटीको गुजारा गर्ने चालकहरु छन्, स्वदेशमा नै स्वरोजगार बन्ने वातावरण स्थानीय सरकारले बनाउनु पर्छ ।”

गठबन्धनतर्फ नगरप्रमुख पदका उम्मेदवार खेलराज पाण्डेय र उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङ मजदुरको पक्षमा रहेकाले यस पटक गठबन्धनलाई जिताउने नेपाल अटो टेम्पु तथा रहेको ई–रिक्सा चालक संघ बुटवलका अध्यक्ष उदय परियारले बताए ।

कोरोना महामारीको समयमा अति आवश्यक खाद्यान्न बोक्दा समेत नगर सरकार र ट्राफिक प्रहरीले आफूहरुलाई दुःख दिएको उनले गुनासो पोखे । गठबन्धनतर्फ नेपाली कांग्रेसबाट नगर प्रमुख पदका उम्मेदवार पाण्डेयले साना व्यवसायीको संरक्षण र ठुला व्यवसायीलाई सम्मान गर्ने नीति रहेको बताए ।

आफूहरु निर्वाचित भए ई–रिक्सा दर्ता, नवीकरण तथा हाट बजार व्यवसायीलाई लाग्दै आएको कर घटाउने आश्वासन दिए । साना व्यवसायीलाई नचिन्ने र ठुला व्यवसायीलाई अर्कै व्यवहार गर्ने नीति नरहेको बताउँदै उनी भन्छन्– “राजनीति आफ्नो इच्छाले गर्नुहोस्, हाम्रै पार्टीमा आउनुहोस् भन्दैनौँ, पेशा गर्न पाउने तपाईंको अधिकार हो । तर, हामी भोट माग्न पाउँछौँ, एक पटक मौका दिनुहोस्, हामी काम गरेर देखाउने छौँ ।” आफू पनि सामान्य व्यक्ति रहेको पाण्डेयले बताउँदै आफू निर्वाचित भए शनिवारको दिन ई–रिक्सा चढेर बुटवलको यात्रा गर्ने बताए ।

त्यस्तै उपप्रमुख पदका उम्मेदवार चिनबहादुर गुरुङले ई–रिक्सा व्यवसायीको समस्या आफूलाई थाहा भएको र आफूहरु निर्वाचित भएपछि समाधान हुने बताए । “ई–रिक्साले गर्दा एउटा वडाबाट अर्काे वडामा जान यात्रुलाई सहज भएको छ” उनी भन्छन्–“राज्यले विद्युतीय सवारीलाई प्राथमिकता दिए पनि स्थानीय सरकारले हेर्ने दृष्टिकोण ठीक छैन । पाँच वर्षमा बुटवल नगरको ई–रिक्सा चालकलाई हेर्ने दृष्टिकोण र व्यवस्थापन ठीक भएन ।”

गठबन्धनका उम्मेदवार विजयी हुने बित्तिकै बुटवलमा ई–रिक्साको सही व्यवस्थापन र समाधान हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्