एजेन्सी । बेलायतको स्थानीय चुनावमा प्रधानमन्त्री बोरिस जोनसन नेतृत्वको कन्जरभेटिभ दललाई झट्का लागेको छ ।
बीबीसीका अनुसार जोनसन नेतृत्वको दलले झन्डै पाँच सय सिट र ११ वटा प्रमुख काउन्सिलमा आफ्नो पकड गुमाएको छ । बेलायतमा आम चुनाव हुन दुई वर्ष बाँकी छ । तर, यो चुनावी नतिजाले कन्जरभेटिभ दलको भविष्यमा चुनौती थपिएको छ ।
प्रतिपक्ष दल लेबर नेता केर स्टार्मरले आफ्नो दल संसदीय चुनावका लागि जितको बाटोमा लागिसकेको प्रतिक्रिया दिएका छन् । यसैबीच, बेलायतका विभिन्न काउन्सिलबाट उम्मेदवार बनेका १० जना नेपालीमूलका उम्मेदवारमध्ये पाँच जना विजयी भएका छन् ।
लन्डन हन्स्लो बरोबाट लेबर पार्टीका विष्णुबहादुर गुरुङ तेस्रो पटक काउन्सिलर निर्वाचित भए । त्यस्तै लन्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलरमा विजयी बने ।
लन्डनकै बार्नेट काउन्सिलको बन्ट्रोओक वडाबाट पूर्व गोर्खा कमलबहादुर गुरुङ, रोयलबरोबाट पहिलो पटक नेपालीमूलका जित रानाभाट र कोलबर्न एण्ड हिप्सवेलको काउन्सिलरमा जगन्नाथ शर्मा निर्वाचित भएका छन् ।











