Logo
Logo

जग्गा खरिद गर्न आर्थिक सहयोग


819
Shares

बागलुङ । गलकोट नगरपालिकाको प्रशासकीय भवनको जग्गा जोहो गर्न स्थानीयवासीले झण्डै रु. ७७ लाख सहयोग गरेका छन् ।

वडा नं.६ को विशेष पहलमा संकलित रु. ७६ लाख ९८ हजार नगरपालिकालाई हस्तान्तरण गरिएको वडाध्यक्ष एवं जग्गा व्यवस्थापन समितिका सदस्य नरबहादुर खत्रीले बताए । सोही वडामा पर्ने मजुवा फाँटमा नगरको प्रशासकीय भवन बन्दैछ । यसअघि छ रोपनी जग्गा नगरपालिकाले आफ्नै बजेटबाट किनेको थियो ।

एक रोपनी १२ आना जग्गादाताले निःशुल्क दिएका थिए । यसबाहेकको जग्गा खरिदका लागि स्थानीयवासीबाट स्वेच्छिक रुपमा आर्थिक सहयोग जुटाउन सहयोग अभियान चलाइएको हो ।

“वडावासीदेखि देश विदेशमा रहनुभएका शुभेच्छुक र सहयोगीबाट सो रकम जुटेको हो”, उनले भने, “मजुवा फाँटमा प्रशासकीय भवन बनाउने निर्णय हुँदा वडाको तर्फबाट रु. एक करोड जुटाउने प्रतिबद्धता हामीले गरेका थियौँ, रकम अझै संकलन हुँदैछ ।”

आफ्नो ठाउँमा नगरको केन्द्र बन्ने भएपछि वडाले चलाएको अभियानमा स्थानीयवासी स्वतःस्फूर्तरुपमा जोडिएका हुन् । एकै परिवारले रु. १० लाखसम्म सहयोग गरेको वडाध्यक्ष खत्रीले बताए । उनी आफैँले पनि चार आना जग्गा निःशुल्क प्रदान गरेका छन् ।

यस्तै नन्दलाल गैरेले चार आना, खगराज गैरेले चार आना, इन्द्रमणि गैरेले चार आना, मेघराज रेग्मीले तीन आना, रामप्रसाद कँडेलले दुई आना, यमबहादुर थापाले दुई आना, नन्दकली बुढाथोकीले एक आना र रुद्रबहादुर खत्रीले डेढ आना जग्गा निःशुल्क दिएका छन् ।

दुई वर्षदेखिको प्रयासपछि नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गाको जोहो भएको हो । हाल भाडाको घरबाट सञ्चालित नगरपालिका आउँदो दुई वर्षभित्रैमा आफ्नै भवनबाट चल्नेछ ।

सुविधायुक्त प्रशासकीय भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको नगरपालिकाले जनाएको छ । भवनका लागि रु. २७ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको नगर उपप्रमुख रेणुका काउचाले जानकारी दिइन् ।

उनका अनुसार जग्गा खरिदमा मात्रै नगरपालिकाले रु. दुई करोड ४५ लाख खर्च गरेको छ । जग्गाधनीले केही निःशुल्क नदिएका भए र स्थानीयवासीबाट आर्थिक सहयोग नजुटेका भए जग्गामै नगरपालिकालाई ठूलो व्ययभार पथ्र्यो ।

नगर उपप्रमुख काउचाले सार्वजनिक जग्गाको अभाव रहेको गलकोटमा स्थानीयवासीले सस्तो मूल्यमा जग्गा उपलब्ध गराएर सम्मानयोग्य कार्य गरेको उल्लेख गरिन् ।

जग्गा व्यवस्थापनको मुख्य चुनौती पार भएकाले अब भवन निर्माणले गति लिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्